काठमाडौं । दश दलीय सत्ता गठबन्धनको बैठक आज (मंगलबार) पनि विनानिष्कर्ष सकिएको छ । दलहरुबीच मन्त्रीको विषयमा भागबन्डा नमिलेपछि बालुवाटार बैठक बुधबार पुनः बस्नेगरी सकिएको हो ।
बुधबार बिहान ९ बजे पुनः बस्ने बैठकमा सहमति जुटाउन प्रयास गरिने नेताहरूले बताएका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार पुनः बसेर निष्कर्ष निकाल्ने बताए ।
‘सरकार पक्षीय राजनीतिक दलका नेताहरूको बैठक बस्यो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो । भोलि फेरि बस्ने भन्नेछ’, उनले भने, ‘भागबन्डाको बारेमा छलफल भएन । सरकार चाँडै बिस्तार हुने गरी छलफल भयो ।’
गठबन्धनलाई निरन्तरता दिने कुरामा गठबन्धन सम्बद्ध दलहरु एकमत रहेको भन्दै लेखकले मन्त्रालयका बारेमा कुनै विवाद नरहेको दाबी पनि गरे ।
नेताहरुले भागबन्डामा विवाद नरहेको दाबी गरेपनि यसकै कारण मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति जुट्न नसकेको हो ।
मंगलबार बिहानमात्रै प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो भने प्रचण्डले दुई वटा भन्दा बढी दिन नसकिने बताएका थिए ।




















प्रतिक्रिया