Logo

प्रमुख समाचार

कांग्रेसबाट अलग हुँदै स्वर्णिमले भने– ‘देउवा–आरजु गिरोहको हेपाइले यो स्थिति ल्यायो’



काठमाडौं । अर्थविद् डा. स्वार्णिम वाग्लेले देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानका कारण आफू कांग्रेसबाट अलग हुने स्थिति सृजना भएको बताएका छन् । कांग्रेसका दुई महामन्त्रीसहित चार नेताहरुलाई एसएमएस लेख्दै उनले आफू आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेको उल्लेख गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु शेखर कोइराला र डा. गोविन्दराज पोखरेललाई लेखेको एसएमएसमा डा. वाग्लेले भनेका छन्, ‘प्रिय दाइ, हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।’

डा. वाग्लेले चार नेतालाई कांग्रेस पार्टीमा तपाईंहरुको निर्णायक हैसियत बनेको दिन कुनै न कुनै रुपमा जोडिनसक्ने आशा समेत व्यक्त गरेका छन् । ‘कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ’, ृउनले भनेका छन्, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’

वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ । रास्वपाले गत ४ मंसिरको चुनावमै उनलाई काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेको थियो । तर त्यतिबेला कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका वाग्लेले अस्वीकार गरेका थिए । त्यसबेला डा. वाग्ले कांग्रेसबाटै उम्मेदवारको आकांक्षी भए पनि उनले टिकट पाएका थिएनन् । उनले चितवनबाट चुनाव लड्न चाहेका थिए ।

  • याे पनि…

युवा अर्थशास्त्री स्वर्णिम वाग्लेले छाडे कांग्रेस, रास्वपाबाट तनहुँ १ मा उपनिर्वाचन लड्ने

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १६:३३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।