Logo

प्रमुख समाचार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक : ‘फास्ट ट्रयाक’मा पारित गर्ने माओवादीको प्रस्ताव, अन्य दलको विमति



काठमाडौं । नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई ‘फास्ट ट्र्याक’बाट पारित गर्ने प्रस्ताव गरेको छ । बिहीबारको प्रतिनिधिसभाको बैठक अघि भएकोदलका प्रमुख सचेतक, सचेतकहरुसँगको छलफलमा माओवादी केन्द्रले औपचारिक रुपमै यस्तो प्रस्ताव राखेको हो ।

सभामुखको अध्यक्षतामा बसेको उक्त बैठकमा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले विगतमा पनि छलफल भएको उल्लेख गर्दै सदनमै छलफल गरेर विधेयक ‘फास्ट ट्र्याक’बाट पारित गर्ने विकल्प अगाडि सारेका हुन् ।

तर, अन्य दलहरुले माओवादी केन्द्रको प्रस्तावमा विमति जनाएका छन् । नेकपा एमालेले छिटो पारित गर्ने पक्षमा रहेको तर संसदीय समितिमै दफावार छलफल हुनुपर्ने अडान राखेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले संसदीय समितिहरु छिटो गठन गर्ने र सदनमा रहेका विधेयकहरु अगाडि बढाउने विकल्प उपयुक्त हुने बताए ।

प्रतिनिधिसभामा तीन वटा विधेयक दर्ता भएर प्रक्रियामा छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा छ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रतिनिधिसभामा विचारधीन छ । सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि प्रतिनिधिसभामा दर्ता भएर प्रक्रियामा रहेको छ ।

यी तीन वटै विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्ने प्रस्ताव माओवादी केन्द्रले राखेको हो । तर, एमालेसहितका अन्य दलले सदनमै छलफल गरेर विधेयक पारित गर्ने प्रक्रियामा असहमति जनाएका हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १४:२५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।