सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेकपा एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन आफूहरु सफल भएको बताएका छन् । शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कर्णाली सरकारमा पनि कांग्रेस चाँडै सामले हुने बताए ।
‘संसद विघटनलाई वैधानिक जामा दिने प्रयत्न नेकपा एमालेका पार्टी अध्यक्ष केपी ओलीले संसदमा आफ्नो अभिव्यक्त मार्फत घोषणा गर्नुभयो र संवैधानिक परिपाटीलाई चुनौती दिनुभयो । आफूले गरेका असंवैधानिक कदमहरुलाई अदालतले असंवैधानिक भनेपछि पनि सही भन्नूभयो’, मन्त्री खड्काले भने ।
यस्तै, खड्काले चुनावमा गरेका प्रतिवद्धता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासामू गरेको प्रतिवद्धता अनुसार कर्णालीमा पर्याप्त बजेट पारिने बताए । साथै, कर्णाली राजमार्गलाई आगामी बजेटमा राष्ट्रिय गौरवको आयोजनामा समेटने दाबी गरे । कर्णाली सरकारले कर्णाली करिडोर सडकको सुरुङ्ग मार्गसहितको डिपिआर गरिसकेको जानकारी दिए ।
मन्त्री खड्काले मुलुकको अर्थतन्त्र ऋणात्मक बनिरहेको र कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको बताए । ‘मुलुकको अर्थतन्त्र ऋणात्मक बनिरहेको, कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ । यसबाट मुक्ति हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछौं’, उनले भने।
प्रतिस्पर्धा आफ्नो ठाउँमा रहेपनि मुलक बनाउने र जनताको हितमा काम गर्न, मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र मुलुकको भुगोलको रक्षामा गर्नमा कसैको पनि डर मान्न नपर्ने खड्काले बताए ।




















प्रतिक्रिया