Logo

प्रमुख समाचार

टीआरसी विधेयकलाई सर्वस्वीकार्य बनाउन प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताहरु सहमत



काठमाडौं । संक्रमणकालीन न्याय निरुपन (टीआरसी) विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरू एकमत भएका छन् । बालुवाटारस्थित सभामुख निवासमा आज (मंगलबार) भएको छलफलमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन दलहरूबीच सहमति भएको हो । यसका लागि विषय र प्रक्रियामा पुनः छलफल गर्न दलहरु तयार भएका छन् ।

छलफलका क्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीआरसी विधेयकको कन्टेन्ट र प्रक्रियाबारे छलफल गर्न सकिने तर यसलाई छिटै टुङ्ग्याउनुपर्ने धारणा राखेका थिए । त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपूर्ण र सवै पक्षका लागि स्वीकार्य हुने गरी अघि बढ्नुपर्ने भन्दै आफूहरू टीआरसी विधेयकलाई चाडै टुङ्ग्याउने पक्षमै रहेको बताएका थिए ।

साथै संयुक्त समिति र अन्य समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन पनि नेताहरू सहमत भएका बताइएको छ । त्यसका लागि अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए । यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने तथा महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्व महान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा रहेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार ११:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।