काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा आफूविरुद्ध परेका रिटमा लिखित जवाफ पेश गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत् पठाइएको लिखित जवाफमा उनले जनयुद्धताका मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा लिन्छु भनेर राजनीतिक प्रतिवाद मात्र गरेको उल्लेख गरेका छन् ।
प्रचण्डले सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्र आरणसहितले दायर गरेको रिटमा सर्वोच्चलाई जवाफ दिँदै प्रचण्डले आफूविरुद्ध दायर भएको रिटको कुनै संवैधानिक र कानुनी आधार नभएकाले खारेज हुनुपर्ने जिकिर गरेका छन् ।
‘जनता नै इतिहासका निर्माता भएका र जनताप्रति उत्तरदायी बन्न तिनै जनताको स्वतःस्फूर्तरुपमा भएको आन्दोलनको नेतृत्व नेकपा माओवाद्रले गरेको र सो जनयुद्धका क्रममा निहत्था व्यक्तिमाथि आक्रमण गर्ने वा कुनै प्रकारका दुःख दिने गरी पार्टीबाट कुनै निर्णय नभएको र त्यस्तो आदेश नगरिएकोले रिट निवेदकहरूले जिकिर लिनु भएजस्तो अवस्था नहुँदा रिट निवेदन खारेजभागी छ’ उक्त मुद्दामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्।
अन्याय र असमानताको विरुद्धमा आवाज बुलन्द गर्दै उर्लिएको उक्त स्वतःस्फूर्त जनसक्रियताको अगुवाइ नेपाल कम्युनिस्ट पार्टी माओवादीको सक्रियता र नेतृत्वमा भएको दाबी प्रधानमन्त्री प्रचण्डको लिखित जवाफमा गरिएको छ ।
दश वर्षको घोषित सशस्त्र युद्ध र सोभन्दा पहिला पनि राज्य पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको खोजी र दोषीविरूद्धको कारबाहीको विषय तथा दश वर्षे युद्धको समयमा असंख्य जनधनको क्षति भएको विषय राज्यको तर्फबाट समाधान गरिनुपर्ने दायित्वको रूपमा रहेको दाबी पनि लिखित जवाफमा गरिएको छ।
युद्धको अवधिमा भएको जनधनको क्षतिको वास्तविक विवरण अभिलेखमा समेत नभएको भन्दै देशमा युद्धको समयमा १७ हजार मानिसहरू मारिएको उनले स्वीकार गरेका छन् । जसमध्ये १२ हजार राज्यको तर्फबाट मारिएको र ५ हजारको मृत्यु विद्रोही पक्षबाट भएको थियो भन्ने अनुमानित संख्यालाई आफूले प्रस्तुत गरेको तर, त्यसलाई राजनीतिक विषय बनाइने लिखित जवाफमा उल्लेख छ।
प्रचण्डले २०७६ माघ १ गते माघी दिवसको अवसरमा टुँडिखेलमा भएको सार्वजनिक कार्यक्रममा ‘१७ हजारमध्ये ५ हजारको जिम्मा लिन्छु, बाँकी १२ हजार राज्यका तर्फबाट हत्या गरिएका हुन्’ भनेका थिए । उक्त अभिव्यक्तिलाई आधार बनाउँदै द्वन्द्वपीडितहरूले मंसिर ४ गतेको निर्वाचनअघि सर्वोच्चमा रिट पेस गरेका थिए ।
सुरुमा उक्त रिट सर्वोच्चले दरपिठ गरिदिएको थियो । दरपिठविरुद्धको रिट दर्ता गर्ने आदेश भएपछि पीडितहरूले पुनः रिट पेस गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रधानमन्त्री प्रचण्डसँग लिखित जवाफ माग गरेको थिए ।
पूरा जवाफ हेर्नुहाेस् :-




















प्रतिक्रिया