काठमाडौं । राजधानीमा जारी एसीसी मेन्स प्रिमियर क्रिकेटमा साउदी अरेवियाले पहिलो तित निकालेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको खेलमा साउदीले कतारमाथी ७ विकेटको जित निकालेको हो ।
कतारले दिएको २ सय १७ रनको लक्ष्य साउदीले ३४ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । साउदीको जितमा अब्दुल वाहिदले १ सय २४ रनको शतकीय ईनिङ खेले । वाकर उल हसनले ५५ बलमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । साद खान शुन्य रनमा आउट हुँदा कप्तान हिशाम शेख २१ रनमा अविजित रहे ।
कतारका लागि इक्रमुल्लाह खानले २ तथा खुरम शाहजादले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतार ४९ दशमलब ५ ओभरमा २ सय १६ रनमा अलआउट भयो । कतारका मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाए । ओपनर कमरान खान ३९ बलमा ७ चौकासहित ३६ रनमा आउट भए ।
विकेटकिपर इमाल लियांगे ३१ रन बनाउँदा कप्तान मोहम्मद रिजलानले ३९ बलमा २८रन बनाए । इक्रामउल्लाह खान १४ तथा आमिर फारुक ४ रनमा आउट भए । साउदीका लागि इश्तिक अहमदले ४ विकेट तथा अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान २÷२ विकेट लिए ।
साउदीको दोस्रो खेलमा यो पहिलो जित हो । कतारको भने लगातार दोस्रो हार हो ।




















प्रतिक्रिया