Logo

राजनीति

शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना गरिएको हो : अध्यक्ष नेपाल



काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताएका छन् । पार्टी निकट युवा सङ्घ नेपालको सहकारी विभागले कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘सहकारीको वर्तमान अवस्था, अवस्था र चुनौती’ विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले जनतालाई अधिकार सम्पन्न बनाउन स्थापित कम्युनिष्ट पार्टी देशमा भएका सबै आन्दोलनमा क्रियाशील रहेको बताए ।

युवालाई सिर्जनात्मक कार्य तथा उत्पादनमा जोड्न सकेमा देश विकास र जनताको समृद्धि कायम हुने उनले बताए । विश्व अर्थतन्त्रमा असर देखा परेको अहिलेको परिस्थितिमा त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने चुनौती रहेको उनको भनाइ थियो । सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको जनाउँदै उहाँले सहकारीले आममानिसको हितमा काम गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी, निजी र राज्य सम्मिलित तीन खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताउँदै आर्थिक सङ्कटको न्यूनीकरण गर्न समाजमा छरिएका ससाना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्ने विचार व्यक्त गरे । सन् १९३० मा भएको विश्व आर्थिक मन्दी समाधानमा सहकारी क्षेत्रको उल्लेखनीय भूमिका रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १९:५७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।