काठमाडौं । नेपाल काठमाडौंमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । अविरल वर्षाको कारण साउदी अरबले अंक बाँड्दै यसअघिको दुई खेलमा अपराजित रहेको नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।
समूह ए मा रहेका नेपाल र साउदीले माथिल्लो मूलपानी मैदानमा आ–आफ्नो तेस्रो खेल खेल्ने तय थियो । तर, वर्षा नरोकिएपछि खेल हुन सकेन । साढे १० बजे पानी रोकिएपछि मूलपानी क्रिकेट मैदानमा ढाकिएको पिचको कभर हटाइएको थियो। यता, आउट फिल्ड सुपर सापरले सुकाइएको थियो। तर, साढे ११ बजेपछि पुनः पानी पर्न थालेपछि पिच कभरले ढाकियो ।
खेलका लागि नियमित समय अनुसार टस ८ः३० मा हुनुपर्ने थियो । र, खेल ९ बजेबाट सुरु हुनुपर्ने थियो। तर, वर्षाको कारण टस नै हुन नभई खेल रद्द भएको हो ।
नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । यता, साउदीले पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा साउदीले कतारलाई ७ विकेटले पराजित गरेको थियो ।
शीर्ष स्थानमा रहेको नेपालको ३ खेलबाट ५ अंक रहेको छ । साउदी ३ अंकसहित तेस्रो स्थानमा छ। नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्ने छ ।




















प्रतिक्रिया