काठमाडौं । मतदानस्थलमा आफ्ना कार्यकर्तामाथि भौतिक आक्रमण भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् ।
राउतले मतदानमा धाँधली गरिएको र प्रशासनकै सहयोगमा मतपेटीकाका सीलहरु पनि तोडिएको राउतको आरोप छ । उनले फेसबुकमार्फत जनता समाजवादी पार्टीले निर्वाचनमा धाँधली गरेको र मतगणनामा पनि धाँधली गरिरहेको आरोप लगाएका छन् ।
‘पारदर्शिताबाट डर किन ? मतगणना स्थलको लाइभ गरिनु पर्ने हाम्रो मागको विपरीत मोबाइल फोन समेत निषेध गरी मतगणना गर्नुको रहस्य के ?’, राउतले भनेका छन्, ‘प्रहरी, प्रशासन र निर्वाचन अधिकृतको मिलेमतो हिजो पनि बूथहरूमा देखिएकै हो, मतपत्र बाहिर छयाप्छ्याप्ती भेटिएकै थिए, अब मतपेटिकाको सील पनि तोडिएको छ, अनि गोप्य रूपले गणना गरिँदै छ।’
जनमत पार्टीले मतगणनाको लाइभ गर्नुपर्ने माग गरिरहेको छ। तर लाइभ नगरिकनै मतगणना भएको छ। ‘लाइभ त अचेल एउटा मोबाइलबाट पनि जो सुकैले गर्न सक्छन्, त्यहाँ उल्टा लाइभ गरिनुको साटो मोबाइल पनि निषेध गरियो। किन?’, फेसबुमा शेयर गरिएको पोष्टमा भनिएको छ, ‘ताकि धाँधलीको कुनै प्रमाण बाहिर नआओस् भनेर ? त्यहाँ भएका मतगणना प्रतिनिधिहरूलाई त हाम्रा बूथ प्रतिनिधिहरूलाई डरत्रास देखाएर जसरी चुप गराइएका थिए, त्यसरी नै गराउने त होला।’
मतगणनाको प्रारम्भिक नतिजाअनुसार जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २२४ मत पाएका छन् । यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन् । कुशवाहले १७० मत पाएका छन् ।




















प्रतिक्रिया