Logo

राजनीति

टीआरसीबारे प्रमुख तीन दलबीच सहमति, संसदीय समितिमा भागबन्डा पनि मिल्याे



काठमाडौं । प्रमुख तीन दलका शीर्षताहरुबीच संक्रमणकालीन न्याय निरुपन (टीआरसी)सम्बन्धी विधेयकका विषयमा सहमति जुटेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच टीआरसी विधेयक र संसदीय समितिको भागबन्डामा सहमति जुटेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा टीआरसीबारे विषेश समिति गठन गर्ने र एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेर टीआरसीको विषय टुंग्याउने र संवैधानिक परिषद सम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको हो ।

सहमतिअनुसार संघीय संसदका २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ । संसदीय सुनुवाइ समितिको भने सभापति कांग्रेसले पाउने छ । १५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेस र एमालेबाट ४÷४ जनाको सहभािगता रहने छ भने बाँकी ७ जनामा माओवादी, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी लगायतका दलबाट प्रतिनिधित्व गरिने छ ।

१० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने सहमिति भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । विपक्षीलाई पनि संसदीय समितिमा भागबण्डा दिएर नयाँ पद्धतिको विकास गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले बताए । उनका अनुसार संघीय संसदका १२ वटा समिति मध्ये एमालेले तीन वटा समितिको नेतृत्व गर्ने छ ।

साेमबारकाे बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहभागिता थियाे । त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १७:५१   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।