काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुननिर्माणका बाँकी काम सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपालमा गोरखा केन्द्रविन्दुभएर २०७२ वैशाख १२ महाभूकम्प गएको आज ८ वर्ष पूरा भएको छ । भूकम्पपछिको पुनर्निर्माणका मुलभूत कामहरू सम्पन्न भइसके पनि अझै केही कामहरू बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ती कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारेका छन् ।
‘पुनर्निर्माणका मुलभूत कामहरू सम्पन्न भइसके पनि अझै केही कामहरू बाँकी नै छ। यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु। सरकारको प्राथमिकतामा सदाझैं सम्पूर्ण नेपालीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु’, प्रधानमन्त्रीले भनेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली तथा आफन्तहरुप्रति समवेदना प्रकट पनि गरेका छन् । उनले भूकम्पनका कारण अंगभंग भएकाहरुको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्दै भूकम्पपछिको उद्दार, राहत र पुनर्स्थापनामा आर्थिक, भौतिक सहयोग गर्नुहुने र सद्भाव व्यक्त गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।
‘वि.सं. २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। भूकम्पका कारण घाइते एवं अंगभंग हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्दछु। भूकम्पपछिको उद्दार, राहत र पुनर्स्थापनामा आर्थिक, भौतिक सहयोग गर्नुहुने र सद्भाव व्यक्त गर्नुहुने सबैप्रति हृदयदेखि सम्मान व्यक्त गर्दछु ।’, उनले भनेका छन्, ‘भूकम्पपछि २०७३ सालमा गठित मेरो नेतृत्वको सरकारको पालामा राष्ट्रिय महत्वका पूर्वाधारहरू एवं सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण, निजी घरहरूको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको थियो। त्यस अवधिमा निजी घर निर्माणका निम्ति प्रतिघर रू. १ लाख अनुदान रकम थप गर्ने लगायत जनतालाई राहत दिने महत्वपूर्ण निर्णयहरू गरिएको थियो।’




















प्रतिक्रिया