काठमाडौं । वैशाख १० मा भएको उपनिर्वाचनमा राप्रपाले ३ वटै क्षेत्रका उम्मेदवारको धरौटी जफत भएको छ । कसैसँग गठबन्धन नगरि चुनाव लडेको राप्रपाले तीवटै क्षेत्रको धरौटी जफत गरेको हो ।
तनहुँ क्षेत्र नम्बर १ मा शोभा गुरूङ, चितवन क्षेत्र नम्बर २ मा जीवलाल पुरी र बारा क्षेत्र नम्बर २ मा सोनालाल प्रसाद सा तेलीलाई राप्रपाले उम्मेदवार बनाएको थियो। तनहुँ १ मा राप्रपा उम्मेदवार गुरूङले २ सय १८ मत मात्रै पाएकी थिइन्। चितवन २ मा राप्रपा उम्मेदवार रहेका पुरीले जम्मा ३ सय ७५ मत मात्रै ल्याएका छन्। बारा क्षेत्र नम्बर २ मा राप्रपा उम्मेदवार तेलीले जम्मा १ सय १९ मत मात्रै ल्याएका छन्।
सदर मतको १० प्रतिशत मत नल्याए उम्मेदवारको धरौटी जफत हुन्छ। प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारले जनही १० हजार रुपैयाँ धरौटी राख्ने व्यवस्था छ। गत मंसिरमा राप्रपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ७ सिट र समानुपातिकमा ७ गरी १४ सिट जितेको थियो।
मंसिरमा भएको चुनावमा तनहुँ १ मा राप्रपा उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ मत ल्याएका थिए। यस्तै चितवन २ मा रविन अधिकारीले ९५५ र बारा २ मा सोनालाल प्रसाद सा तेलीले ४ सय ५९ मत ल्याएका थिए। तेलीले मंसिरमा आफूले ल्याएकोजति मत पनि यसपालि जोगाउन सकेनन्।




















प्रतिक्रिया