Logo

प्रमुख समाचार

पहाडमा उर्लिएको रास्वपालाई मधेशमा किन रुचाइएन ?



काठमाडौं । नेपालका दर्जनौं राजनीतिक दलहरुमध्ये छोटो समयमा स्थापित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई हालै सम्पन्न प्रतिनिधिसभा उनिर्वाचनबाट थप एक सिट लाभ भएको छ । गत ४ मंसिरमा भएको आमनिर्वाचनबाट प्रत्यक्षतर्फ ७ र समानुपातिक १३ (उपसभामुख बनेकी इन्दिरा रानामगरसहित) गरी २० सिट जितेकोमा उपनिर्वाचनबाट रास्वपाले थप एक सिट बढाएको हो ।

पार्टी सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहरिएपछि रिक्त हुन पुगेको चितवन २ मा भएको उपनिर्वाचनमा उनै लामिछने निर्वाचित हुँदा तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेलाई रास्वपाले थप सांसदका रुपमा पाएको हो । चितवन २ मा लामिछानेले शानदार मत र मतान्तरका साथ उपनिर्वाचन जिते । यसअघि उनले ४९ हजार ३०० मत र ३४ हजार ३१२ मतान्तरले जितेका थिए भने उपनिर्वाचन ५४ हजार १७६ मत र ४२ हजार ९६२ मतान्तरको ऐतिहासिक जित निकालेका हुन् ।

तनहुँ १ मा वाग्ले पनि १४ हजार बढी मतान्तरले विजयी भए । उपनिर्वाचन हुन केही हप्ताअघि मात्रै कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका उनले ३४ हजार ९१९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि ४ मंसिरको आमनिर्वाचनबाट काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ६ मा शशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, ललतिपुर ३ मा तोसीमा कार्की, चतिवन १ हरि ढकाल र चितवन २ मा रवि लामछिाने निर्वाचित भएका थिए । उनीहरुले पूराना, शक्तिशाली र प्रमुख भनिएका दलका ‘हेभीवेट’ उम्मेदवारलाई पाखा लगाएर जित हात परेका थिए ।

अपत्यारिलो मानिएको रास्वपा पहाडी भेगको विशेषतः शहरी क्षेत्रमा उदाएपछि यसले राष्ट्रिय राजनीतिमा एउटा तरंग पैदा गरेको थियो । रास्वपाले यो क्रमलाई उपनिर्वाचनमार्फत पनि निरन्तरता दिन सफल भयो । तीन निर्वाचन क्षेत्रमा एक/एक सदस्य चयनका लागि भएको उपनिर्वाचनमा दुई स्थानमा जित निकाल्नु रास्वपाका लागि ६६ प्रतिशतभन्दा बढी अनुपातको सफलता हो ।

तर पहाडी भेगमा चमत्कारिक सफलता हात पारिरहेको रास्वपा मधेशमा भने ‘शून्य’मा छ । मधेश प्रदेशका कुल ३२ संघीय निर्वाचन क्षेत्रमध्ये एउटा क्षेत्रमा पनि रास्वपाले जितेको छैन । त्यसो त रास्वपाले उम्मेदवार नै नउठाएको भने होइन । गत ४ मंसिरको आमनिर्वाचनमा सो पार्टीले २५ क्षेत्रमा उम्मेदवार उठाएकोमा शून्य सफलता हात पार्यो ।

यसअघि उम्मेदवार नउठाएको बारा २ मा उपनिर्वाचनमा भने रास्वपाले रमेश खरेललाई अघि सारेको भएपनि लज्जास्पद हार व्यहोर्नुपर्यो । जसपा अध्यक्षसमेत रहेका उपेन्द्र यादवले २८ हजार ४१५ मत पाएर सांसद निर्वाचित हुँदा चौथो बनेका रास्वपाका खरेलले तीन हजार मत कटाउन सकेनन् । मंसिरको चुनावमा नेपाल सुशासन पार्टीबाट उम्मेदवार भई काठमाडौं १ मा पाँचौ भएका खरेलले बारा २ मा जम्मा २ हजार ८२९ मत पाए ।

रास्वपा महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल

उसो त रास्वपा स्वयं पनि मधेशमा आफ्नो जनमत कमजोर रहेको स्वीकार्छ । रास्वपा महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल पनि मधेशलगायत ग्रामिण क्षेत्रमा रास्वपाको प्रभाव कम रहेको बताए । यी क्षेत्रमा शिक्षासँग सूचना प्रविधि विकास भइनसकेका कारण आफूहरु पनि केही पछि परेको उनी बताउँछन् । ‘मधेशसहित अन्य प्रदेशको पनि ग्रामिण क्षेत्रमा हाम्रो जनमत कमजोर छ’, महामन्त्री डा. ढकाल भन्छन्, ‘मधेश मानव विकास सूचकांकमा पछि छ । एडीटीआई (एड्भान्स डिस्ल्पे टेक्नोलोजी इन्नोभेशन) पनि कम छ । त्यसकारण मधेशसँगै कर्णाली, सुदूरपश्चितिर हामी अलि कमजोर देखिएका छौं ।’

यो चुतौतीलाई छिचोल्दै कसरी अघि बढ्ने भन्नेबारे पार्टीमा छलफल गरेर अगाडि बढ्ने ढकालको भनाइ छ । ‘अब मधेशकेन्द्रित र गाउँकेन्द्रित जनमत बढाउन आवश्यकता हामीले देखिसकेका छौं । यसबारे छफलफल गरेर के गर्ने भन्ने रणनीतिक योजना बनाउन लागिपर्ने छौं ।’

विश्लेषक तथा लेखक सिके (चन्द्र किश्वर) लाल

‘जान्नेलाई छान्ने’ नारा बोकेको रास्वपाले मधेशसमा भएको आफ्नो हारबारे विभिन्न पक्षलाई दोष दिइरहेका बेला राजनीतिक विश्लेषकहरुको तर्क भने बेग्लै छ । विश्लेषक तथा लेखक सिके (चन्द्र किश्वर) लाल रास्वपाले मधेशलाई वास्तै नगरेकोले हार व्यहोर्नु परेको बताउँछन् । उनी भन्छन्– ‘रास्वपाले मधेशलाई ध्यानै दिएको छैन । कोशिस गर्या भए पो ! पहिलो कुरा त उनीहरुको प्राथमिकतामै मधेश छैन ।’

मधेशका लागि रास्वपाको एजेन्डा पनि गलत भएको विश्लेषक लालको तर्क छ । ‘जुन किसिमको राजनीतिक एजेन्डा लिएर गाछ, त्यो मधेशका लागि काम गर्ने खालको छैन’, प्रदेश खारेजीको पक्षमा रहेको रास्वपाबारे उनले भने, ‘मधेशमा गएर संघीयता विरोधी पार्टीले के गर्ने ?’ उनले मधेशमा संघीयता र समावेशीता विरोधी राजनीति नचल्ने बताए ।

विश्लेषक डा. लोकराज बराल

अर्का विश्लेषक डा. लोकराज बराल मधेशमा रास्वपाको कुनै योग्दान नै नरहेको बताउँछन् । उनी भन्छन्, ‘मधेशको एउटा आफ्नै ‘सेन्टिमेन्ट’ हुन्छ । अर्को कुरा रास्वपाको मधेशमा के योग्दान छ ?’

उपनिर्वाचनको सवालमा भने उम्मेदवारको व्यक्तित्वले पनि फरक पारेको विश्लेषक डा. बरालको भनाइ छ । ‘मधेशकै लोकप्रिय मान्छे उठाएको भए नजिते पनि भोटमा चाहिँ अलिकति फरक पथ्र्यो होला’, उनले भने, ‘तर रमेश खरेल यता (काठमाडौं–१) हारेर उता हाम फाल्न गएका हुन् । स्वतन्त्र पार्टी भन्ने बित्तिकै कहाँ जित्छ नै भन्ने हुन्छ र ?’

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १८:४६   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।