काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप उपाधि विजेता नेपाली टिमलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । एसीसी प्रिमियर कप उपाधि भिडन्तमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ । जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ । सोही नेपाली टिमलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।
‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ बधाई दिँदै प्रधानमन्त्रीले भनेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशनबमोजिम उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का खेलाडीहरुलाई हौसला बढाउन खेल मैदान पुगेका थिए । साथै, जितपश्चात् सम्पूर्ण खेलाडीहरुलाई बधाई दिँदै जितको खुसी साटेका थिए ।




















प्रतिक्रिया