काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आगामी दिनमा नेपाली क्रिकेट झन् राम्रो हुने बताएका छन् । मंगलबार एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एशिया कपमा पुग्न सफल भएपछि कप्तान पौडेलले यस्तो बताएका हुन् ।
आगामी सेप्टेम्बरमा हुने एशिया कपमा अब नेपालले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ । कप्तान पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना अब पूरा भएको बताएका छन् । ‘प्रतियोगिता जितेर एसिया कपमा छनोट हुँदा एकदमै खुसी लागेको छ’, उनले भने, ‘एसिया कप हाम्रा लागि ठूलो छ। सानैदेखि भारत÷पाकिस्तानको खेल हेर्दै आयौं। आज त्यही प्लेटफर्ममा पुगेर उनीहरूसँग खेल्दैछौं।’
उनले एशिया कप खेल्दा नेपाली टिमको एक्सपोजर बढ्ने समेत बताए । ‘हाम्रा लागि एसिया कपको एकदमै महत्व छ। अब हामीलाई सबैले चिन्छन्। त्यसैल आउने वर्षमा नेपाली क्रिकेटमा झनै राम्रो हुन्छ,’ रोहितले भने।
प्रतिक्रिया