पाेखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले औँला नउठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले पुरानो राज्य संरचनाबाट गरिने कामकारबाही अब काम नलाग्ने उल्लेख गरे ।
नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा गण्डकी प्रदेश सदस्यमा गठबन्धनकातर्फबाट निर्वाचित मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यको सम्मानमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सो धारणा राखेका हुन् । “नेपाली जनताले हाम्रा प्रत्येक गतिविधिमा निगरानी गरिरहेका छन्, अब पनि गल्ती ग¥यौँ भने जनताले हामीलाई छाड्ने छैनन्, तीन तहको सरकारले अब नयाँ किसिमबाट आफ्ना कामकारबाहीलाई अगाडि बढाउन जरुरी छ”, उनले भने ।
“सीमित स्रोत र साधनलाई उपयोग पारदर्शीरुपमा जनताको हित र चाहनाअनुसार नै सरकार अगाडि बढ्न जरुरी छ”, उनले भने, “आम नेपाली जनताले सरकारको अनुभूति गर्न सकुन् ।” जनताको शिर उठ्नेगरी काम गर्न जरुरी रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले अब पनि ठूला दलले नयाँ ढङ्गबाट अगाडि बढेनन् भने आगामी निर्वाचनमा जनताले तर्क गरे ।
गण्डकी प्रदेश सरकारले एक दुई दिनमै पूर्णता पाउने बताउँदै उनले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने र एक दुई दिनभित्र मन्त्री नियुक्त गरिने बताए । गण्डकी प्रदेशले कृषि, उद्योग, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा सिँचाइलाई प्राथमिकतामा राखेको र निर्वाचनमा गाउँमा जाँदा गरिएका प्रतिबद्धतालाई समेत पूरा गर्ने भनाइ उनको छ ।
प्रतिक्रिया