Logo

खेलकुद

ट्वान्टी–२० विश्वकप छनोटकाे खेल नेपालमा हुने



काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपालमा एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।

नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघले जनाएको छ । एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिकी महाद्वीपमा हुने विश्वकपमा स्थान बनाउने छन् । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । हालै सम्पन्न एसीसी प्रिमियर लिग कपबाट मूलपानी क्रिकेट मैदान प्रयोगमा आएको थियो ।

६ महिनाअघि आईसीसीले नेपाललाई बंगलादेशसँग मिलेर २०२७ मा आईसीसी यू–१९ महिला विश्वकप आयोजना गर्ने जिम्मेवारी तोकेको पृष्ठभूमिमा ट्वान्टी–२० विश्वकप छनोटको आयोजना पनि नेपाललाई दिएको छ । नेपालले पहिलो पटक आईसीसीको यति ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो । गत वर्ष ग्लोबल छनोटअन्तर्गत गरिएको ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको खेलहरू जिम्बावे र ओमानले आयोजना गरेका थिए ।

नेपालले यसअघि २०१० मा विश्व क्रिकेट लिग डिभिजन ५ आयोजना गरेको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले २०१६ मा नामिबिया, २०१७ मा केन्यासँगको खेल आयोजना गरेको थियो । त्यसबाहेक आईसीसीको प्रतियोगितामा विश्वकप लिग २ को २०१९–२३ को सर्कलमा नेपालले २०२० मा अमेरिका र ओमान तथा २०२३ मा नामिबिया र स्कटल्यान्ड तथा यूएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक शृंखलाका खेल आयोजना गरेको थियो ।

आयोजक वेस्ट इन्डिज र अमेरिका २०२४ को विश्वकपका लागि सोझै छनोट भएका छन् । २०२२ मा अस्ट्रेलियामा भएको पछिल्लो ट्वान्टी–२० विश्वकपमा शीर्ष ८ भित्र रहेका राष्ट्रहरू अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि अर्को वर्ष हुने ट्वान्टी–२० विश्वकपका लागि छनोट भइसकेका छन् । त्यसबाहेक विश्व ट्वान्टी–२० वरीयतामा शीर्ष रहेका अफगानिस्तान र बंगलादेशले पनि अमेरिकी महाद्वीपको टिकट काटिसकेका छन् ।

ट्वान्टी–२० विश्वकपमा पहिलो पटक २० राष्ट्र खेल्दै छन् । एसियासहित अफ्रिका र युरोपबाट २–२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएर आएको १–१ टोलीले अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार ०८:१७   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।