काठमाडौं । सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाका लागि अनलाइनबाटै टिकट लिने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निर्देशन दिएका छन् ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले १५ दिनभित्रै संघीय र प्रादेशिक अस्पतालहरूलाई अनलाइनबाटै टिकट लिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
सबै संघीय अस्पतालहरूमा जनरल शैय्या, आइसियु शैय्यामा बिरामी भर्ना र रिक्त संख्या आफ्नो वेबसाइटमा दैनिक रूपमा ७ दिनभित्र अद्यावधिक गर्न अस्पतालहरूलाई निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ ।
‘सबै संघीय अस्पतालहरूमा ओपिडीमा अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउने साथै प्रादेशिक अस्पतालहरूमा पनि सोही नियम लागु गर्न प्रादेशिक स्वास्थ्य हेर्ने मन्त्रालयलाई अनुरोध गर्ने,’ मन्त्री बस्नेतले दिएको निर्देशनमा उल्लेख छ ।
प्रतिक्रिया