काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा टिम अफिसियलहरुलाई सम्मान गरेको छ । उनीहरूको योगदानलाई सम्मान गर्दै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि एक समारोहकाबीच उनीहरूलाई सम्मान गरिएको हो ।
हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ र ८ जना टिम अफिसिलयलहरुलाई जनही ५० हजार रुपैयाँ नगद बैंकले प्रदान गरेको छ । नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले खेलाडी तथा टीम अफिसिलयहरुलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको भन्दै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय रुपमा क्रिकेले राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरबपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरको बताए ।
क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय रुपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताए । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशको लागि खेल्ने मेरो सपना त वास्तवमा हामी सबैको सपना रहेछ, पूरा गर्न पाएकोमा खुशी लागेको बताए ।
प्रतिक्रिया