Logo

अर्थ

सहकारीपीडितका दु:ख : कसैका सपना चकनाचुर, कसैको परिवार नै खलबलिँदै



काठमाडौं । काठमाडौं नागार्जुनकी राधा महर्जन हरेक दिन ताहचल पुगेर एक निजी घरमा सरसफाइ गर्थिन् ।

तर, १३ दिनयता उनी काममा गएकी छैनन् । अहिले उनको दैनिकी छ– सहकारीपीडितको आन्दोलनमा सहभागी भई माइतीघर मण्डलामा धर्नामा बस्ने । जहाँ उनीजस्तै घाम–पानी, भोक–तिर्खा केही नभनी सयौँ पीडित धर्नामा छन् ।

राधाको जीवनको खुसी र लय बिथोल्ने काम गोंगबुमा रहेको खुसी बचत तथा ऋण सहकारी संस्थाले गरेको हो । सहकारी सञ्चालक बचतकर्ताको रकम डुबाएर फरार छन् । बचत गरेको साढे आठ लाख उठाउन उनी माइतीघर आन्दोलनमा जोडिएकी हुन् ।

राधा आन्दोलनमा हुँदा उता मालिकले घरमा अर्कै कामदार राखिसकेका छन् । ‘एक–दुई दिन आएपछि सरकारले सुन्छ भन्ने लागेको थियो, तर हप्तौँ बस्नुपर्ने भयो,’ उनले भनिन्, ‘दिनको तीन–तीन घन्टा गरेर तीन ठाउँ काम गर्न जान्थेँ । म नगएपछि सबै ठाउँ नयाँ मान्छे राखिसके ।’ बुधबार नयाँ पत्रिकासँग कुरा गर्दै उनले भोकभोकै चिच्याइरहेको बताइन् । ‘आज एकादशीको व्रत छ । बिहानदेखि एक कप फिक्का चिया खाएको भरमा चिच्याइरहेकी छु,’ उनले भनिन्, ‘त्यसैले आज घर जाने प्लान छ । नुहाइधुवाइ गरेर भोलि फेरि आउँछु ।’

राधाले तीन वर्षअघि साढे तीन लाख ऋण गरेर छोरीलाई वैदेशिक रोजगारका लागि दुबई पठाएकी थिइन् । दुबईबाट छोरीले पठाएको रकमसहित आफ्नो सबै कमाइ गरेर साढे आठ लाख रकम उनले खुसी सहकारीमा बचत गरेकी थिइन् । ०६१ सालमा श्रीमान् ‘ब्लड क्यान्सर’का कारण बितेपछि छोराबुहारीसँग बसिरहेकी उनी अहिले पैसा फसेपछि विलखबन्दमा छिन् ।

उता दुबईबाट फोन गरेर हरेक दिन छोरी रुन्छिन् । ‘राम्रो सहकारी भन्नुहुन्थ्यो, मैले दुःख गरेर कमाएको पैसा डुबाइदिनुभयो,’ छोरीले राधालाई भनिरहेकी हुन्छिन् । घरमा छोरा रिसाउँछन् । ‘मैले पाँच हजार माग्दा पैसा छैन भन्नुहुन्थ्यो, किन छैन भन्नुभयो, अहिले पो थाहा भयो,’ छोराले यही सुनाउँछन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार ०७:३३   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।