काठमाडौं ।नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध २ सय ९१ रनको लक्ष्य पेश गरेको छ । हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको गरेको नेपालले कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीको सहयोगमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय ईनिङ खेले । कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए । कुशल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध पहिलो शतक बनाउन मात्र १ रनले चुकेका थिए । उनी विलिङ्टन मासाकाट्जाको बलमा बोल्ड आउट भएका थिए ।
पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलब ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । अर्का ओपनर शेख मासाकाट्जाको नै बलमा रायन बर्लबाट क्याच आउट भए ।
तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान पौडेल २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाउदै आउट भए । तेस्रो नम्बरमा ब्याटिङमा आएका मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।गुलसन झाले १३ बलमा १३ रन बनाए । आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए । नेपालले अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।
जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १/१ विकेट लिए ।




















प्रतिक्रिया