काठमाडौं । भारतमा आज (बुधबार) देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको हो ।
कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे । नेपालका अन्जन विष्टले एक गोल फर्काए ।
खेलको २३ औं मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । खेलको ६५ औं मिनेटमा मोहमदले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए ।
खेलको ६८औं मिनेटमा अन्जनले गोल गरेपनि नेपाल ३–१ ले पराजित भयो । अन्जनको यो नेपालका लागि १२ औं अन्तर्राष्ट्रिय गोल हो ।
यससँगै साविक उपविजेता नेपालले हारबाट नेपालले प्रतियोगिताको सुरुआत गरेको छ । समूह ‘ए’ मा रहेको कुवेतले भने पहिलो खेलमै ३ अंक जोडेको छ । यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् । अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ ।




















प्रतिक्रिया