काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीको सरुवा फिर्ता नहुने स्पष्ट पारेका छन् ।
मन्त्री बस्नेतले कर्मचारीले जस्तोसुकै धम्की दिए पनि सरुवा फिर्ता नहुने आज आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । मन्त्री बस्नेतले भने, ‘सरुवा फिर्ता नभए आत्महत्या गर्छु भन्दै कर्मचारीहरूले धम्की दिने गरेका छन् । तर मैले सरुवा फिर्ता गर्न सक्दिनँ, बरु आत्महत्या गर्नू भन्ने गरेको छु ।’
आफ्नो समस्या समाधानको लागि निवेदन दिन आएका स्वास्थ्यकर्मीलाई लक्षित गर्दै मन्त्री बस्नेतले सरुवा थमौती गर्न विभिन्न शक्तिहरू प्रयोग गरेर आउने गरेको बताए । ‘हुँदा हुँदा कोही कोही त आत्ममहत्या गर्छु भनेर पनि आएका छन् । हाम्रो सचिवज्यूहरु यहाँ दायाँबायाँ हुनुहुन्छ । एक दिन त एउटाले यहीँ आत्महत्या गर्छु भनेर सचिवज्युलाई भनेछन् ।
सचिवज्यू त झन् कमलो मनको । उहाँले मसँग केही गर्नुप¥यो भन्नुभयो,’ सचिवलाई जवाफ दिँदै मन्त्री बस्नेतले भने, ‘उसो भए डोरी लग्दिनुस् । सचिवहरू कहाँ झुण्डिन अफ्ठ्यारो लाग्यो भने मन्त्रीको ढोकामा गएर झुण्डिनुस् भने ।’
त्यसपछि सचिवले ती कर्मचारीलाई त्यही कुरा सुनाइदिनुभएछ, त्यो सुनेपछि ती कर्मचारी खुरुक्क उठेर हिँडेको मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले आफूले भनेजस्तो नभए दंग्याउने, धम्क्याउने, घुर्क्याउने धेरै रहेको बताए ।
प्रतिक्रिया