Logo

अर्थ

प्रभु बैंकको बिना धितो लगानी काण्ड : ग्राहकको नाममा बचत खाता खोलेर ऋण प्रवाह, रकमान्तरपछि खाता बन्द



काठमाडौँ । प्रभु बैंक साबिक सेन्चुरी बैंकले बिना धितो लगानी गरेको कर्जाका सम्वन्धमा थप नयाँ खुलासा भएको छ ।  प्रभु बैंक साबिक सेन्चुरी कमर्सियल बैंकले ग्राहकको खाता अनधिकृत रुपमा प्रयोग गरी त्यसमा एक करोड रुपैयाँ ऋण प्रवाह गराई सो रकम गैर कानुनी तवरले रकमान्तर गरेको तथ्य खुलेको हो । बैंकले शान्ता शर्मा नाम गरेकी ग्राहकको नाममा बचत खाता खोलेर रकम जम्मा गर्छ। केही समयपछि उक्त रकम ग्राहकलाई थाहै नदिई चेकमार्फत निकालिन्छ र खाता बन्द गरिन्छ तर सो रकम कसले कुन प्रयोजनका लागि भुक्तानी गर्यो खाता किन बन्द गरियो प्रभु बैंक अझैसम्म पनि नाजवाफ छ ।

प्रभु बैंक (साबिक सेन्चुरी कमर्सियल बैंक लि) ले ग्राहकको खातालाई प्रयोग गरी ग्राहकलाई कुनै सूचना नदिई, अनधिकृत रुपमा ग्राहकको खाताबाट रकम रकमान्तर गरी बैंकिङ कसुर गरेको भेटिएको हो । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार अनधिकृत रुपमा ग्राहकको मन्जुरी बिना खाताको रकम निकाल्न वा भुक्तानी दिन नहुने उल्लेख छ । उक्त नियमअनुसार बैंक तथा संस्थाले अनधिकृत रुपमा अन्य व्यक्तिको खाताबाट रकम रकमान्तर गर्न नपाइने व्यवस्था छ ।

यस्तो थियो घटना

ललितपुर इमाडोल वडा नं ८ कित्ता नं मा जग्गा र घरको पुर्जा सिटिजन्स बैंकमा धितो बन्धक हुँदा हुँदै गैर कानुनी रुपमा त्रिपक्षिय करार सम्झौता गरी ऋण दिने कार्यमा हाल प्रभु बैंक तत्कालिन सेन्चुरी बैंक संलग्न भएको खुलेको हो । जुन बैंकिङ कसुर सजाय ऐनको दफा ७ को उपदफा (ङ) विपरित हो । सामान्यतया अन्य बैंकले ग्राहक स्वयमकै नाममा जग्गा रजिष्ट्रेशन पास भएपछि बैंकको नाममा रोक्का गरे पश्चात मात्रै ऋण लगानी गर्न सकिने व्यवस्था छ । तर साबिकको सेन्चुरी बैंकले शान्ता शर्मा नाम गरेकी ग्राहकलाई बैंकको नाममा जग्गा रोक्का छ, पछि नामसारी गरिनेछ भन्दै त्रिपक्षीय करारनामा मार्फत लगानी गर्न पाउने अधिकार रहेको भन्दै विभिन्न गोप्य दस्तावेजहरुमा हस्ताक्षर गराउँछ ।

ऋणको साँवा ब्याज बुझाउने किस्ताको तालिका र पैसा राख्ने खाता नम्वर मात्रै दिइन्छ बैंकबाट । शान्ताका अनुसार किस्ता तिर्दै आएको अवस्थामा एकाएक बैंकबाट बिना बोधार्थको पत्र आफुलाई पठाइन्छ, जहाँ पठाउनु पर्ने हो त्यहाँ नपठाएर अन्यत्रै लगाई कर्जाको दुरुपयोग गरेको उनले पत्तो बल्ल पाउँछिन् । उनी भन्छिन्– ‘यो विषयमा छानबीन गर्न मैले नेपाल राष्ट्र बैंकमा उजुरी दिएको थिएँ तर नेपाल राष्ट्र बैंकको तर्फबाट कुनै जवाफ नआएपछि लगत्तै मैले पाटन उच्च अदालतमा कारबाहीको माग गर्दै रिट दायर गराएँ ।’

सो घटनालाई कानूनी तवरबाट हेरिरहेका अधिवक्ताका अनुसार बैंकिङ कसूरसँग सम्बन्धित उक्त कारोवारका बारेमा अदालतका न्यायाधिशहरुलाई समेत बुझाउन हम्मे हम्मे पर्यो । लामो अडान पछि विभिन्न समयमा न्यायाधिशहरुले सेन्चुरी बैंकलाई कर्जा लगानी गर्दाको सक्कल फाइल देखाउन आदेश जारी पनि गरे। तर, बैंकले रकम कसको खातामा पठाएको प्रमाण पेश गर्न सकेन । केवल त्रिपक्षीय करारनामा हो र, यो विषय करारसँग मात्रै जोडिन्छ भन्ने गैरजिम्मेवार जवाफ दिएर उम्कन खोज्छ बैंक ।

उक्त मुद्दामाथि अन्तिम फैसला गर्दै अदालतले बैंकिङ कसुर भएको ठहर गर्दै जिल्ला अदालतबाट मुद्दा चलाउने ठाउँ खुला रहेको व्यहोराको आदेश जारी गर्दै रिट खारेज गर्यो। आदेश लगत्तै ग्राहकले तत्कालिन सेन्चुरी कमर्सियल बैंकमा पुगेर पैसा कहाँ पठाएको हो त्यसको विवरण माग गर्छन् । तर बैंकका कर्मचारीले हामीले विवरण सम्बन्धित कम्पनीलाई पठाएको हो भन्ने गैरजिम्मेवार जवाफ दिन्छन्। त्यसपछि  पैसा पठाएको हो भने त्रिपक्षीय सम्झौता अनुसारको पैसा बुझाईसकेकोले सो जग्गा आफ्नो नाममा पास गर्न लिखित निवेदन दिन्छिन् शान्ता शर्माले ।

ग्राहकले निवेदन दिए पश्चात सेन्चुरी कमर्सियल बैंक र प्रभु बैंकको मर्जर हुन्छ । प्रभु बैंक भइसकेपछि सम्वन्धित कम्पनीलाई पत्र लेख्दै बैंकले बोधार्थ ग्राहकलाई पठाउँछ। सो बोधार्थ पत्रबाट बल्ल तत्कालिन सेन्चुरी कमर्सियल बैंकले बिना धितो कर्जा प्रवाह गरेको प्रमाणित हुन्छ । अनुसन्धानका क्रममा तत्कालिन सेन्चुरी बैंकले २०७५ साल पुस २९ गते ग्रिनहिल सिटीसँग मिलेर ऋणीको नाममा प्रवाह गरेको कर्जाका लागि कुनै धितो नलिएको खुल्न आउँछ ।

अहिले ग्राहक शान्ता शर्माले यस्तो गैरकानूनी बैंकिङ कारोवारमा संलग्न बैंकका कर्मचारीलाई विभागीय कारबाही गराउन निवेदन दिएकी छिन् ।

ग्रीनहिल सिटी र शान्ता शर्माबीचको द्विपक्षीय सम्झौता

ग्रीनहिल सिटी (हाउजिङ)ले २०७५ असार १८ गते शान्ता शर्मासँग द्विपक्षीय सम्झौता गरेको थियो । उक्त सम्झौतापत्रमा हाउजिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत द्रिपू ध्वज अधिकारी र खरिदकर्ताको तर्फबाट शान्ता चौधरीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार खरिदकर्ताले हाउजिङसँग खरिद गरि लिने घरजग्गा ललितपुरको महालक्ष्मी नगरपालिका वडा न.१९ (साविक इमाडोल गाविस वडा न.८) स्थित ग्रीन हिल सिटी प्रालिको नाममा दर्ता श्रेस्ता कायम रहेको कित्ता नम्बर ५२३ जग्गाको जम्मा क्षेत्रफल २२६.८६ वर्गमिटर भएको तथा सो जग्गामा बन्ने जम्मा क्षेत्रफलको ९६२.५१ वर्गफिटको ग्रीनहिल सिटि, इमाडोल सामुहिक आवास योजना अन्तर्गतको घर नम्बर १५ रहेको र उक्त जग्गामा करारनामा अनुसार नक्सा डिजाइन बमोजिम घर निर्माण कार्य सम्मन्न गरी फिनिसिङ समेत गरिदिने उल्लेख छ ।द्विपक्षीय सम्झौता हुनुभन्दा अघि नै ग्रीनहिल सिटीले शान्तासँग २०७४ मंसिर १८ गते ३ लाख, ०७४ पुस २० गते ५० लाख र ०७५ वैशाख २४ गते ५० लाख रुपैयाँ गरी एक करोड ३ लाख रुपैयाँ लियो ।  

त्यसैगरी, ग्रीन हिल सिटीले २०७५ पुस ३० गते शान्तासँग थप एक करोड रुपैयाँ लियो । शान्ताले घर तथा जग्गा वापतको रकम सम्झौताअनुरुप नै हाउजिङ परियोजनामा कर्जा प्रदान गर्ने बैंक सेञ्चुरी बैंकमार्फत जग्गाधनी कम्पनी ग्रीन हिल सिटीकै नाममा जम्मा भयो ।

कर्जा प्रवाहमा बैंकबाटै बदमासी

२०७५ पुस २९ गते हाउजिङ परियोजनामा कर्जा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंक, शान्ता शर्मा र ग्रीनहिल सिटी त्रिपक्षीय सम्झौता भयो । सो सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका सहायक अधिकृत मुगासेर राई, ऋणी शान्ता शर्मा र ग्रीनहिल सिटीका सीईओ द्रिपू ध्वज अधिकारीले हस्ताक्षर गरे । तर बैंकले कुनै जग्गा धितो बन्धकनै नराखी उक्त धितो बन्धक सिटिजन बैंकले कर्जा प्रबाह गर्न मिल्छ भन्ने एउटा पत्रका आधारमा कर्जा स्वीकृत गर्‍यो ।

सम्झौताअनुसार ग्रीनहील सिटीले ललितपुरको इमाडोल गाविस वडा न.८ कित्ता नम्बर ५२३ क्षेत्रफल १९४.८६ वर्गकिलोमिटर जग्गामा निर्मित साढे २ तल्लाको आवासीय भवन एक करोड ९४ लाख ९९ हजार ७०० रुपैयाँमा शान्ताले खरिद गर्न मन्जुर गरेको हुँदा सो घर खरिद गर्नको लागि शान्ता (ऋणी) ले बैंक समक्ष कर्जा माग गरे अनुसार कम्पनीले ऋणीको नाममा घर हस्तान्तरण नगरेसम्मको अवधिको लागि जमानी बस्न मस्जुर गरे बमोजिम ऋणीको पत्नी (दिपेन्द्र कंडेलकी पत्नी शान्ता) को नाममा आवास भवन कम्पनीबाट खरिद गर्नको लागि एक करोड ३१ लाख रुपैयाँ प्रदान गर्न मन्जुर भएको र २०७५ पुस २९ गते ऋण स्वीकृति पत्र दिएको कुरा बैंक तथा ऋणीले स्वीकार गरेको उल्लेख गरिएको छ ।

तर शान्ताले बैंकबाट एक करोड रुपैयाँ मात्र पाएकी छिन् । जुन रकम ग्रीनहिल सिटीलाई ०७५ पुस ३० गते नै पठाएकी छिन् । ३१ लाख रुपैयाँ भने उनले अझसम्म पाएकी छैनन् । जसका लागि उनले बैंकलाई पत्र पठाएर माग समेत गरेकी छिन् ।शान्ताले सम्झौताअनुसार बैंकबाट एक करोड ३१ लाख पाउनुपर्ने रकममध्ये एक करोड मात्र पाएको भएपनि उनले बैंकलाई एक करोड ३१ लाख रुपैयाँ कै मासिक किस्ता बुझाउँदै आएकी छिन् ।

अहिले शान्ता शर्माले हाउजिङ कम्पनी र प्रभु बैंकलाई करोडौँ रकम बुझाइसकेकी छिन् । सबैले झैं शान्ता शर्माले ले पनि सुन्दर घरमा बस्ने सपना सजाएकी थिइन् तर बैंक र हाउजिङ कम्पनीको बदमासीको शिकार बनेकी शर्माले नत घर पाइन् नत ऋणबाट उन्मुक्तिनै । अहिले उनको नामको घरमा अरु कसैले बास जमाइसकेको छ । उनी सोही घर अगाडिको एक घरमा डेरा लिएर बस्दै आएकी छिन् । शर्मा अहिले आफ्नो सपनाको महल र जिवनभरको कमाईमा अरुको चैन टुलुटुलु हेर्न बस्न बाध्य छिन् ।

आखिर शान्ताजस्ता कैयौँ ग्राहकलाई बेवास्ता गर्दै घर न घाटको बनाएर प्रभु बैंक उन्मुक्त भएर कतिन्जेल अघि बढ्न सक्छ यो सवालले जवाफ खोजिरहेको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १७:३६   :  बजे

1.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।