काठमाडौं । कोशी प्रदेश सरकार निर्माणमा प्रदेशसभाका सभामुखको सहभागिताबारे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिक्रिया दिएका छन् । कोशी प्रदेशसभाका सभामुखले सरकार निर्माण गर्नका लागि सहभागिता जनाएको विषयमा प्रतिक्रिया दिँदै उनले संघीय संसद् र प्रदेशसभाको नेतृत्वले शिक्षा लिनेबाहेक अन्यथा निर्णय गर्न नसकिने बताएका छन् ।
आइतबार आयोजित ‘संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रमको निष्कर्ष सार्वजनिक तथा पत्रकार भेटघाट’ कार्यक्रममा सभामुख घिमिरेले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले थप टिप्पणी गर्न नसकिने पनि बताए ।
सातवटै प्रदेश सभाका सभामुख र उपसभामुख तथा संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको नेतृत्वसँगको छलफलमा कोशी प्रदेशको सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षर समेटिएको विषयमा छलफल भएको घिमिरेले जानकारी दिए । शुक्रबार र शनिबार सातवटै प्रदेश सभाका सभामुख र उपसभामुखसँग संघीय संसद्को नेतृत्वले छलफल गरेको थियो ।
‘कोशी प्रदेशको अहिलेको सरकार निर्माणको सन्दर्भ धेरै नै छलफल गरेका छौं । हामीले निष्कर्ष पनि निकालेका छौं । त्यो निष्कर्ष भनेको हाम्रो तीन तहका सरकारले त्यहाँ कामहरू गर्दाखेरी विधायिकालाई सम्भव भएसम्म निष्पक्ष बनाएर जानुपर्छ भन्ने एक वाक्यमा हामीले निष्कर्ष बाहिर ल्याएका छौं’, सभामुख घिमिरेले भने, ‘घटनाकै बारेमा चर्चा गर्ने कुराहरूमा हामीले किन निष्कर्षमा पुगेनौं वा घटनाबाट शिक्षा लिने बाहेक किन निर्णय गरेनौं भन्दा यो अदालतमा गइसकेको विषय छ ।’




















प्रतिक्रिया