काठमाडाैं । पार्टीका आन्तरिक र राष्ट्रिय महत्वका मुद्दामा चर्काचर्की र समूहअनुसार नेताहरूको आरोप–प्रत्यारोपसहित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको बहस सकिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले बुधबार निर्णय सुनाउने गरी सोमबार बैठक टुंगिएको छ ।
बैठकको छैटौँ दिन सोमबार बोल्न बाँकी केन्द्रीय सदस्यको धारणा, मन्त्रीहरूको ब्रिफिङका साथै उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठेका प्रश्नको जवाफ दिएका थिए । त्यसपछि उसै दिन सभापति देउवाले निर्णय सुनाउने गरी बुधबार ४ बजेसम्मका लागि बैठक सारिएको थियो ।
कांग्रेसकै सहमतिमा समाजवादी मोर्चा : खड्का
बैठकमा उपसभापति खड्काले चार दलको समाजवादी मोर्चा कांग्रेससँगकै सहमतिमा बनेको सुनाए । डा. शेखर कोइरालाले उठाएको प्रश्नमा जवाफ दिँदै खड्काले गठबन्धन पुनर्स्थापित गर्ने सवालमा भएका बैठकहरूमा नै यसबारे माओवादी, जसपा र एकीकृत समाजवादीले जानकारी गराएको बताए ।
‘१० पुसमा भत्किएको गठबन्धन पुनर्स्थापित गर्ने सन्दर्भमै तीन दलबीच मोर्चा निर्माणको सहमति भएको हो । पछि विप्लवजी थपिएर चार पार्टी भएर सार्वजनिक घोषणा भएको हो । कांग्रेसले त्यही रूपमा बुझेको छ,’ उनले बैठकमा भने, ‘पुस १० मा गठबन्धनमा गडबड थियो । त्यही रातिबाट हामी लागेर प्रारम्भ भयो, विश्वासको मतसम्म पुग्यो र अहिले सातै प्रदेश र केन्द्र सरकारमा छौँ ।’
उपसभापति खड्काले सभापतिले नचाहेर बैठक बस्न ढिला भएको भन्नेमा सत्यता नरहेको प्रस्टीकरण दिए । राजनीतिक घटनाक्रम र तिनका असरलाई मूल्यांकन गरेर बैठक सारिएको उनको दाबी थियो । कांग्रेसमा झन्डै एक वर्षको अन्तरालमा केन्द्रीय समिति बैठक बोलाइएपछि सभापतिको आलोचना भएको थियो ।
कांग्रेसले चुनाव मात्रको चिन्ता होइन, समग्र देशको चिन्ता गर्नुपर्छ : महामन्त्री शर्मा
महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको बैठकबाट कांग्रेसले आगामी निर्वाचनको तयारीबारे निर्णय नगर्ने बताए । कांग्रेसले चुनाव मात्रको चिन्ता गर्ने नभई समग्र देशको चिन्तामा आफूलाई केन्द्रित बनाएर जानुपर्ने, यसका लागि सरकारबाट डेलिभरी र संगठन सुदृढ बनाएर जानुपर्ने उनको भनाइ थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।





















प्रतिक्रिया