काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले आफूले निर्वाचन आयोगले तोकेकै समयभित्र चुनाव खर्च बुझाएको बताएकी छन् ।
तर, पनि आयोगले कानुनको गलत व्याख्या गरी बिना कानुनी आधार आफ्नो नामको दुरुपयोग गरेर चुनाव खर्च नबुझाउनेहरूको सूचीमा राखेको भन्दै ध्यानाकर्षण गराएकी छन् । त्यस्तै रबीन्द्र मिश्रले पनि आफूले खर्च विवरण बुझाएको तर आयोगले नबुझाएको लिष्टमा राखेको भन्दै आपत्ति जनाए । अधिवक्ता समेत रहेका स्वागत नेपालले पनि आफूले चुनाव खर्चको विवरण बुझाएर पनि आयोगले नबुझाएको लिष्ट राखेको भन्दै बेइज्जती गरेको कसुरमा मुद्दा हाल्ने भनेर प्रतिवाद गरेका छन् ।
सोभिता गौतमले आफूले ०७९ मंसिर २८ गते नै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा निर्वाचन खर्च विवरण पेस गरेको बताएकी छन् । ‘निर्वाचन आयोगले कारबाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम मेरो नाम पर्नुपर्ने कुनै कानुनी आधार देँखिदैन । निर्वाचन आयोगले कानुनको गलत व्याख्या गरी, बिना कानुनी आधार मेरो नाम दुरुपयोग गरेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भनेकी छन् ।
आयोगले मंगलबार चुनावको खर्च विवरण सार्वजनिक नगर्नेको सूचीमा गौतमको पनि नाम समावेश गरेको छ ।




















प्रतिक्रिया