काठमाडौं । साउन २ लाई बैठकको मिति तोकिएदेखि नै धेरैको अनुमान थियो– लामो समयपछि बस्न लागेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवाप्रति आक्रामक बन्छन्।
अनि, अधिकांश सदस्यको मत पनि उनीहरूको प्रस्तुतितर्फ नै कोल्टिन्छ। तर, जब बैठक सुरु भयो, अवस्थाविपरीत मात्रै बनेन, बैठकमा सदस्यको मत के रह्यो सभापति देउवाले फेसबुक लाइभमार्फत प्रत्यक्ष देखाए लाइभ गर्ने निर्णय नै गराएर।
पार्टी संरचनामा दर्जनौं भद्रगोल बेहोरिरहेको कांग्रेसले परम्पराबाट माथि उठ्दै कार्यकर्ता, नागरिक र सर्वसाधारणको पनि पहुँचमा पुग्ने गरी बैठकको प्रत्यक्ष प्रसारण गरेपछि देउवाप्रति केन्द्रीय सदस्य नै एकाएक सकारात्मक बनेको देखियो। पुराना पार्टीले आफूलाई रूपान्तरण गर्न सकेनन् भन्ने आरोप आइरहेका बेला देउवाले बैठक लाइभ गरेर क्रान्तिकारी कदम चालेको प्रशंसा कांग्रेसकै नेताहरूले गरिरहेका छन्।
आफूमाथि अपारदर्शी र विधिविहीनताको आरोप लाग्दै आएपछि सभापतिले सन्देश दिनका लागि पनि बैठकको लाइभ गराएको पार्टीका सहमहामन्त्री किशोरसिंह राठोर बताउँछन्। भन्छन्, ‘पार्टीभित्रको अवस्थालाई मध्यनजर राख्दै बैठक प्रत्यक्ष प्रसारणको प्रस्ताव उहाँले नै ल्याउनुभएको हो। जनताले देखे सभापतिप्रति पार्टीकै नेताहरूको दृष्टिकोण पनि। यो जरुरी पनि थियो।’
अर्का केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले विपक्षीहरू आक्रामक भएका बेला पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताए। उनले कांग्रेसको सभापति व्यक्ति नभएर संस्था भएको भन्दै सभापतिलाई कमजोर बनाउने मानसिकता कसैको भए आजैका मितिबाट त्यो मानसिकता त्याग्नुपर्ने बताए। ‘म अहिले नाम लिन चाहन्नँ। तर, हाम्रा विपक्षीहरू निकै आक्रामक ढंगले मैदानमा ओर्लेका छन्। हामी अलमलमा छौं। यस्तो अलमलले उल्टो बाटो हिँडिरहेको हो कि भन्ने चिन्ता र चासो सर्वत्र छ।’
कार्कीले अहिले पार्टीको नेता र संसदीय दलको नेता बदल्ने समय नभएको भन्दै यदि त्यसमा कसैको सोच भए आजैबाट त्याग्न आग्रह गरे। अधिकांश केन्द्रीय सदस्यहरूले महामन्त्रीहरूले लयमा काम गर्न नसकेको एकोहोरो आरोप लगाइरहेका थिए। बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले भनिन्, ‘महामन्त्रीजीहरू सभापतिजीसँग गुनासो राख्नुहोस्। उहाँसँगै बोल्नुहोस्। बाहिर गएर पार्टीका आन्तरिक विषय नपोख्नुहोस्। एकोहोरो सभापतिमाथि खनिनु गलत हो। सभापतिको विकल्प खोज्दै गर्दा महामन्त्रीको पनि विकल्प खोज्न सकिने तर्फ पनि हेक्का राख्नुहोस्।’
कांग्रेस बैठक मुख्यतः नक्कली भुटानी शरणार्थीको केशमा जेलसम्मै पुगेका पार्टीका केन्द्रीय सदस्यसमेत रहेका बालकृष्ण खाँणलाई फसाउने काम पार्टीभित्रबाटै भइरहेको विचार राख्नेको पनि उत्तिकै बहुमत थियो।
बैठकमा बोल्दै केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीलाई जीवन्त राख्नका लागि अनुशासन चाहिने भन्दै, ‘हामी एकबद्ध भएर गयौं भने कुनै पनि शक्तिले तलमाथि पार्न सक्दैन। मात्र अहिले पार्टीमा अनुशासनको कमी छ। सबैले आआफ्नो ठाउँमा अनुशासन देखाउनुहोस्।’ श्रेष्ठले अदालतमा भएको विषयमा आफ्नै पार्टीको साथीलाई पाएसम्म खुइल्याउने बाटोमा जानु भनेको एकदमै गलत अभ्यास पार्टीमा मौलाएको बताए। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ।





















प्रतिक्रिया