Logo

पत्रपत्रिका

कांग्रेस बैठक : देउवाले दिएनन् सदस्यले उठाएका प्रश्नको जवाफ



काठमाडौं। कांग्रेसले आफ्नो समर्थनमा बनेको सरकारले थालेका भ्रष्टाचारविरोधी कदमलाई साथ र समर्थन गर्ने सैद्धान्तिक प्रतिबद्धता जनाए पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने विषयमा भने मौन बसेको छ ।

साउन २ देखि आठ दिन चलेको बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसले भनेको छ, ‘भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किऊन् र कोही निर्दोष नफसून् भन्ने हाम्रो पार्टीको नीति छ ।’

पार्टीको निर्णयप्रति महामन्त्री गगनकुमार थापाले लिखित रूपमै फरक मत दर्ज गराएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने अपराधमा संलग्न भएको अभियोगमा मुद्दा दायर भइसकेपछि अदालतबाट न्यायिक निरूपण नहुँदासम्म खाणलाई निलम्बन गर्नुपर्ने उनको मत छ । थापाले तीन वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी अभियोगमा अदालतमा मुद्दा चल्दा सांसद निलम्बन हुने तर पार्टीमा किन नहुने भन्ने प्रश्न गरेका थिए ।

‘भ्रष्टाचार, अख्तियार दुरूपयोग, आर्थिक अनियमिता, गैरकानुनी आम्दानी, नैतिक पतन देखिने फैजदारी अभियोग, सामाजिक अपराधजस्ता विषयमा जुनसुकै तहको नेता, कार्यकर्ता वा सदस्य अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्तिले अनुसन्धान प्रक्रियालाई सहयोग गर्न मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पार्टीको पदीय भूमिकाबाट राजीनामा दिनुपर्छ,’ थापाले आफ्नो फरक मतमा उल्लेख गरेका छन् ।

उनले गम्भीर आरोपमा पक्राउ परिसकेपछि व्यक्तिको निजी विषय हो र पार्टीको विषय बन्न हुँदैन भन्ने धारणा बनाउनु गलत भएको बताएका छन् । ‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा आरोपित हुन सक्छ तर थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन,’ उनले भनेका छन्, ‘उक्त व्यक्तिले पार्टीबाट आफूलाई अलग नराखे वा राजीनामा नदिए मुद्दाको न्यायिक निरूपण नहुँदासम्म सार्वजनिक पद वा पार्टीको संलग्नता वा जिम्मेवारीबाट अलग राख्नुपर्छ ।’ खाणलाई निलम्बन गर्ने विषयमा सभापति शेरबहादुर देउवा तयार नभएपछि बैठकले सैद्धान्तिक आवरणमा ‘फेस सेभिङ’ गर्ने काम मात्रै गरेको एक केन्द्रीय सदस्यले बताए ।

कांग्रेसले भ्रष्टाचार र सुशासनको क्षेत्रमा १३ बुँदाको सैद्धान्तिक प्रतिबद्धता अघि सारेको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद भएको घटनालाई गम्भीर रूपमा लिँदै कांग्रेसले छानबिन गरी दोषीउपर कारबाही माग गरेको छ । यही विषयलाई लिएर प्रमुख प्रतिपक्ष एमालेले उच्चस्तरीय छानबिनको माग गरिरहेका बेला कांग्रेसले अनुसन्धान निकायबाट मात्रै निष्पक्ष छानबिनको माग गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार ०७:३४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।