एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाटै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निसाना साँधे।
सुन तस्करी प्रकरणलाई लिएर श्रेष्ठमाथि ओली आक्रामकरूपमा प्रस्तुत हुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ। ओली कम्बोडिया उड्नुभन्दा अघिल्लो दिन गत साताको बुधबार साँझ राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टलभन्दा बढी तस्करीको सुन बरामद गरेको थियो।
भारतबाट ल्याइएका मोटरसाइकल चढ्ने देशमा हङकङबाट ल्याएको मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ को प्रयोजनबारे यसअघि कहिल्यै चर्चा भएन। उक्त ब्रेक सुसहितको सुनको तौल १५५ केजी रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ। बलियो सुरक्षा घेरा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिर आएको अवस्थामा सुन बरामद भएपछि सिंगो मुलुकको ध्यान त्यतातर्फ तानिएको छ। जसको अहिले राजस्व अनुसन्धान विभागले नै अनुसन्धान तथा तहकिकात गरिरहेको छ। यो प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन्।
यसरी यति ठुलो मात्रामा तस्करीको सुन बरामद भएपछि एमाले अध्यक्ष ओलीले सुरक्षाको विभागीय जिम्मेवारीमा रहने गृहमन्त्री श्रेष्ठमाथि निसाना साँधेका हुन्।
ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री जवाफदेही हुनुपर्ने भन्नेमाथि उल्टै मुद्दा हाल्न लगाइएको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, ‘गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? उहाँले बताउनुपर्यो उहाँको संलग्नता छ, छैन ? सानोतिनो संलग्नताबाट यो त भएको छैन होला ! उहाँको संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ?’
सुन तस्करीमा गृहमन्त्री श्रेष्ठमाथि आरोप लगाउनेमा ओली पहिलो भने होइनन्। यसअघि एमालेनिकट पत्रकार संगठन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले विमानस्थलबाट गृहमन्त्री श्रेष्ठले नै तस्करीको सुन छुटाएको आरोप लगाएका थिए ।
सुन बरामद भएकै दिन बस्नेतले आफ्नो फेसबुकमा गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट सुन छुटाएको र अर्थमन्त्री प्रकाशशरण महतले राजस्व अनुसन्धान विभागबाट बरामद गर्न लगाएको सूचना आफूलाई प्राप्त भएको उल्लेख गरेका थिए । त्यसपछि गृहमन्त्री श्रेष्ठको सचिवालयले बस्नेतले गृहमन्त्रीविरुद्ध भ्रम छरेर मानमर्दन गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको थियो। बस्नेतले माफी मागेपछि यो विषय सामसुम भइसकेको छ। बस्नेत आफैंले ‘समाचारको स्रोत गलत परेको’ बताइसकेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।




















प्रतिक्रिया