Logo

समाचार

गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनमा संघले विलम्ब गरे नेतृत्व लिन सुदूरपश्चिम सरकार तयार



धनगढी । कैलालीमा गेटा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने प्रक्रियाले गति लिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले गेटामा विश्वविद्यालय चलाउन आवश्यक प्रक्रिया थालेको बताएका हुन् ।

गेटा विश्वविद्यालय सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना भएकाले अस्पताल र मेडिकल विश्वविद्यालय सञ्चालन गर्न प्रदेश सरकारले संघीय सरकारसँग साझेदारी गर्न चाहेको मुख्यमन्त्री शाहले बताए । ‘गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको विषय प्रदेश र संघ सरकारको प्राथमिकतामा परेको छ,’ उनले भने, ‘मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा संघीय सरकारको नीतिमा परेको र प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र प्रदेश सरकार विश्वविद्यालय चलाउन एकमत रहेको सबैको जानकारीको लागि अवगत गराउँछु।’

मुख्यमन्त्री शाहले गेटामा निर्मित मेडिकल पूर्वाधारको निरीक्षणको क्रममा प्रदेश सरकार पनि मेडिकल विश्वविद्यालय सञ्चालन गर्न साझेदारी गर्न तयार रहेको स्पष्ट पारेका हुन् । गेटामा साउनभित्रै न्यूनतम उपचार सेवासहितको अस्पताल सञ्चालन गर्ने तयारी उनले बताए ।

गेटामा विश्वविद्यालय सञ्चालनका विषयमा कुनै द्विविधा र अन्यौल नरहेको मुख्यमन्त्री शाहले बताएका छन्। अस्पताल र विश्वविद्यालय चलाउन संघीय सरकारले सहयोग गर्न र निर्णय गर्न विलम्ब गरे सुदूरपश्चिम सरकार नेतृत्व लिन समेत तयार रहेको मुख्यमन्त्री शाहले बताएका छन्। ‘संघीय सरकार विश्वविद्यालय चलाउन स्पष्ट छ। प्रदेश सरकार पनि विश्वविद्यालय र अस्पताल चलाउनुपर्ने कुरामा संघ सरकारसँग सहकार्य गर्न तयार छ,’ उनले भने, ‘सुदूरपश्चिम सरकार विश्वविद्यालय सञ्चालन गर्ने कुरामा नेतृत्व लिन समेत तयार छ।’

गेटाका निर्देशक डाक्टर प्रमोद जोशीका अनुसार सरकारले १४१ जनाको दरबन्दी स्वीकृत गरेको र जनशक्ति पुग्ने बित्तिकै ओपिडी सेवा चलाउने तयारी थालिएको छ। अहिले अस्पतालका लागि तीन जना विषेशज्ञ डाक्टर मात्र रहेकाले कम्तिमा ८ जना विषेशज्ञ चिकित्सक आउनासाथ अस्पताल सञ्चालनमा आउने डा. जोशीले बताए ।

‘हामी पहिलो चरणमा एक सय शय्याको न्यूनतम उपचार सेवाको अस्पताल चलाउने तयारीमा लागेका छौँ। एक सय शय्याबाट क्रमिक शय्या बढाउने योजनामा पनि काम अगाडि बढ्ने छ,’ उनले भने, ‘थप स्वास्थ्य जनशक्ति पुग्ने बित्तिकै न्यूनतम उपचार सेवाको अस्पताल सुरू हुन्छ।’

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १९:११   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।