काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागकाे अवलाेकन तथा निरीक्षण गरेका छन् । त्यस क्रममा उनले भन्सार विभागमा कार्यरत कर्मचारीलाई आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे ।
“अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्ष अपग्रेड गर्नुपर्ने हुन्छ”, मन्त्री महतले भने । सो अवसरमा मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका थिए ।
“अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ”, मन्त्री महतले भने, “सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ । कार्गोलगायत भन्सारका सबैतिर अवलोकन ग-यौं, कसरी चलेको छ, सिस्टमका बारेमा बुझ्यौं । अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विभिन्न निकायले काम गरिरहेको छ । यसमा आ–आफ्नो जिम्मेवारी छ ।’
मन्त्री डा. महतले भने, ‘राजश्व अनुसन्धान, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी र सेना पनि छ । नागरिक उड्डयन मन्त्रालयले नै सञ्चालन गरेको छ । सबैको समन्वयकारी भूमिका हुनु अनिवार्य छ । एकअर्कालाई सहयोग गर्नुपर्छ, त्यो भयो भने मात्र गैरकानुनी गतिविधि कम भएर जान्छ ।’
अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँ नयाँ प्रयोग गरिरहेका हुन्छन् । त्यसकारण हामीले पनि प्रविधिलाई त्यहीअनुरुप अपग्रेट हुनुपर्ने मन्त्री डा. महतको भनाइ थियो । उनले अहिले असाधारण गतिविधि भइरहेको छ, अनुसन्धानमा जोडिएका साथीहरुले यसबारे निगरानी गर्नुपर्छ । यही निगरानीका आधारमा सूचना आदान–प्रदान गर्नुपर्छ । यदि यसो भयो भने अपराध गर्ने मानसिकता भएका व्यक्तिको प्रयास विफल हुने बताए ।
सुन तस्करीको घटनामा पनि सुचनाकै आधारमा पक्राउ परेको बताउँदै मन्त्री महतले भने, ‘सबैको भूमिका यसमा महत्वपूर्ण हुन्छ, एउटैको मात्र भूमिकाले राम्रो नतिजा आउँदैन ।’




















प्रतिक्रिया