Logo

अनलाइनपाना खोज

सुशासनमा कमजोर बन्दै एनआइसी एसिया बैंक, ‘सीईओ न्यौपाने आफैं गलत’ !



काठमाडौँ । तत्कालिन एनआइसी बैंक र बैंक अफ एसिया मर्ज भएर बनेको एनआइसी एसिया बैंक शाखा सञ्जालका हिसावले आज ठूलो भएपनि बैंकिङ सुशासनका मामलामा दिनप्रति दिन कमजोर बन्दै गइरहेको छ । ‘बैंक पनि साथी पनि’को नारा लिएर अघि बढेको एनआइसी एसिया बैंकमाथि अचेल सर्वसाधारणले हत्तपत्त विश्वास गर्दैनन् । किनकि यो बैंकबाट ऋण लिएकाहरु धेरै बेघर भएका छन् । राष्ट्र बैंकले दिएको नीति-निर्देशन लत्याएको भन्दै एनआइसी बैंकमाथि पटकपटक कारबाही समेत भइसकेको छ ।

बानेश्वरकी लिक्वेर व्यवसायी लक्ष्मी खड्का एनआइसी एसिया बैंकसँग ऋण लिएर कारोबार सकेसम्म नगर्न अरुलाई सुझाव दिन्छिन् । उनी भन्छिन्–‘एनआइसी एसिया अरु बैंकभन्दा खराव छ, आर्थिक मन्दी यस्तो छ कथम् कदाचित व्यापार नभएर एक किस्ता तिर्न छुट्यो भने तारन्तार फोन आउँछ,उस्तै परे घरमा गार्ड पठाइन्छ,धितो लिलामीमा आउने होकि भन्ने डर हुन्छ ।’उनका अनुसार बैंकबाट शुरुमा ११ प्रतिशतको ब्याजदर भनेर सम्झौता भएको कर्जा पछि १७ प्रतिशतसम्म बनाइएको थियो । त्यस्तै यस अघि एक ग्राहकलाई एनआईसीको विराटनगर शाखाले ९.९२ प्रतिशतमा ब्याज दिएको भएपनि ब्याजदर बढेर १५.७० प्रतिशत पुगेको भन्दै एक ऋणीलाई पत्र काटेको थियो ।

हुन पनि मारवाडी सञ्चालक रहेको एनआइसी एसिया बैंकले अरु त अरु कोरोना महामारीले समस्यामा परेका ऋणीमाथि समेत चर्को ब्याज लिएर झन समस्या थोपरेको थियो । अचाक्ली ब्याज बढाएर सर्वसाधारण ऋणीलाई महामारीमा पनि दुःख दिएपछि राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसीलाई पत्राचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै जवाफ माग गरेको थियो ।

एनआइसी एसिया बैंकले अन्धाधुन्ध कर्जा विस्तार गर्ने र सर्वसाधारणको गतिलो धितो लिलाम गर्न हतार गर्ने गर्दा भावी दिनमा यसले बैंकिङ प्रणालीमाथि नै गम्भीर जोखिम आउनसक्ने चिन्ता व्यक्त गरिएको छ । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा पछिल्लो समय बैंकहरु अत्यधिक नाफा मुखी र अव्यवहारिक बन्दै जाँदा समाजमा खलल पुगेको बताउँछन् ।

बैंकहरुले गतिलो धितो हत्याउन हदैसम्म गएर ऋणीहरुलाई च्याप्ने गरेको र यसो हुनुमा केही हदसम्म बैंकका सीईओहरुलाई दिइने मोटो रकम तलबको दवाब हुनसक्ने तर्क गर्छन् ।एनआइसी एसियामा सीईओका रुपमा सशिन जोशी हुँदासम्म ठिकठाक रहेको बैंकमा पछिल्लो समय कान्छा सीईओका रुपमा रोशन न्यौपाने भित्रिएदेखि अराजकता मौलाएको छ । उनले सञ्चालक समितिको मुड अनुसार आफ्नो योजनाहरु प्रस्तुत गर्ने र उनिहरुलाई खुशी पार्न ऋणीहरुको मर्का नबुझी हदैसम्म दबाव दिएर ऋण असुल्ने नीति लिने गरेको बैंककै एक कर्मचारी बताउँछन् ।

एनआइसी एसिया बैंकमाथि पटकपटक लागेका आरोपहरु

१, नियमविपरित सञ्चालकलाई ऋण दिएको ।
२, कर सम्बन्धी कागजात पूरा नगरेको ।
३, ऋण–स्वपूँजी अनुपातसम्बन्धी राष्ट्र बैंकको निर्देशनको पालना नगरेको ।
४, दोहोरो वासलात भएका कम्पनीलाई पनि ऋण दिएको ।
५, व्यक्तिगत कर्जा प्रवाह गर्दा पालना गर्नुपर्ने नियमको पालना नगरेको ।
६, कर्जा सूचना केन्द्रसँग सम्बन्धी नियमहरु पालना नगरेको ।
७, जथाभावी सेवा शूल्क लिएको लगायतका आरोपहरु छन् ।

बैंकले २ वर्षदेखि शेयरधनीलाई लाभांश बाँड्न पाएको छैन

एनआईसी एसिया बैंकले लगातार २ वर्षदेखि शेयरधनीलाई लाभांश बाँड्न पाएको छैन । नेपाल राष्ट्र बैंकले बैंकलाई पुँजी प्रर्याप्त नदेखिएको भन्दै लाभांश बाँडन रोकेको हो। त्यस्तै राष्ट्र बैंकले नेप्से कारोवारमा दिनप्रतिदिन यसको सेयर मूल्य घट्दै जाँदा शेयरधनीहरूमा आगामी दिनमा बैंकको कार्यसम्पादन र नाफाप्रति अविश्वास देखिएको छ ।

ऋण दिने बेला ग्राहक तान्नका लागि जस्तोसुकै हत्कण्डा अपनाउन पछि नपर्ने एनआइसी एशिया बैंक यस अघि पनि ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी गरेर हडप्दै आएको आरोपमा विवादमा तानिएको थियो । राष्ट्र बैंकको आँखा छल्न र ग्राहकलाई झुक्याउनका लागि ब्याजदर १० प्रतिशत भन्दा कम कायम गर्ने एनआईसीले ऋण लिएको अर्को महिना नै ब्याजदर बढाउँदै आएको छ ।

एनआइसी एशिया बैंकले आफ्नो नारा आर्थात स्लोगन ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने राखेको छ । तर, बैंकले गर्दै आएका क्रियाकलापले भने उक्त नाराकै अपमान भएको प्रष्ट हुन्छ । कहिले राष्ट्र बैंकको निर्देशन लत्याउने त कहिले ऋणीहरुलाई अनावश्यक दुःख दिएका समाचाहरु एनआईसीका लागि नौला होइनन् । राष्ट्र बैंकको कमजोर नियमनका कारण बैंकिङ क्षेत्रमा अराजकता बढ्न थालेको कतिपय बैंकर र विश्लेषकहरूले बताएका छन् । ‘धेरै बैंकरले अहिले गभर्नरलाई हेपेर कानुनी सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन्,’ एक बैंकरले भने, ‘यसले बजारमा अराजकताको बीजारोपण भएको छ ।’

नियममा बस्नेलाई घाटा र नियम मिच्नेले बढी नाफा हुँदा पनि नियामक चुपचाप बसेपछि अराजकता बढ्न थालेको बैंकरहरूले बताएका छन् । यस्तो अवस्थाबाट आय असमानता र विभेद सिर्जना भएको एक बैंकरले बताए ।

एनआइसी एसियाको जहाँपनि छट्टु पारा

नेपाल बैंकर्स एसोसियसनले श्रावण १ गतेबाट लागू हुने गरी भद्र सहमति तोड्यो । सबै वाणिज्य बैकहरुले अघिल्लो दिननै निक्षेपका लागि तय गरेको नयाँ ब्याजदर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरे तर एनआइसी एशियाले भने यहाँ पनि छट्टु पारा देखाउँदै भोलीपल्ट पनि अपरान्ह मात्र ब्याजदर प्रकाशित गर्यो । सबै बैंकले शनिबार साँझ नै पत्रिकालाई सूचना दिएर आइतबार बिहानै पत्रिकामार्फत् नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । तर, एनआइसी एसियाले भने कुनै पनि दैनिक पत्रिकामा ब्याजदर सम्बन्धी सूचना प्रकाशन गरेन ।उसले सबै बैंकको ब्याजदर हेरेर आइतबार दिउँसो सिटी पोष्ट नाम गरेको दैनिक पत्रिका र वेबसाइडमार्फत् नयाँ ब्याजदर सार्वजनिक गर्यो ।

आफु सरकारी जग्गा हडपेर बस्ने, अरुलाई बेघर बनाउने सीईओ न्यौपाने

एनआइसी एसिया बैंकका सीईओ रोशन न्यौपाने आफु भने सरकारी जग्गा हडपेर आलिसान महल ठड्याएर बस्ने तर बैंकका ऋणीहरुलाई भने बेघर कसरी बनाउने भन्नेमा उद्दत रहेको पाइन्छ । न्यौपानेले बूढानिलकण्ठ नगरपालिका वडा नं २ को सरकारी जग्गा हडपेर आलिशान घर र शानदार बगैंचा बनाएको विषयमा अनलाइनपानाले यसअघि निरन्तर समाचार सम्प्रेषण गरेको थियो । समाचारको दबाबकै कारण न्यौपानेले घर भत्काउन बाध्य भए । र अन्ततः घरले चर्चेको पछिल्लो पटक समेत गरेर एक रोपनी बराबरको सरकारी जग्गा फिर्ता गरेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार ०८:४०   :  बजे

342
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।