Logo

प्रमुख समाचार

विद्यार्थीसँग आर्थिक मूल्य ताेकेर त्रिविको प्रश्नपत्र आउट गरेको भन्दै अख्तियारमा उजुरी



काठमाडौं : त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र विषयको एमफिल पिएचडी तथा एमए पहिलो र तेस्रो सेमेस्टरको प्रश्नपत्र परीक्षा हुनु एक साताअघि नै बाहिरिएको भन्दै यससँग सम्बन्धित भएर आर्थिक चलखेल भएकाे आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले सञ्चालन गर्ने अन्तिम तहको परीक्षा यही साउन १७ देखि शुरु भई भदौको दोस्रो सातासम्म चल्ने कार्यक्रम छ। उजुरीमा राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख सह-प्राध्यापक डा. ईश्वरीप्रसाद कँडेल र प्रशासन प्रमुख हरेराम रिजालले प्रति विद्यार्थी एक लाख रूपैयाँ लिई एमफिल पिएचडी तथा स्नातकोत्तर तह पहिलो र तेस्रो सेमेस्टरको प्रश्नपत्र विद्यार्थीहरूलाई परीक्षा अगावै चुहावट गरेको भन्दै तत्काल पक्राउ गरी छानविन गर्न माग गरिएको छ।

राजनीतिशास्त्र केन्द्रीय विभागमा एमए तेस्रो सेमेष्टरकी एक छात्रालाई गोल्डमेडलिष्ट बनाउने भनी विभागीय प्रमुखबाट प्रश्नपत्रको पूरै सेट साउन ११ गते उपलब्ध गराइसकिएकाे उजुरीमा दाबी गरिएकाे छ।

उजुरीमा विभागीय प्रमुख कँडेल र प्रशासन प्रमुख रिजालले विभागमै प्रश्नपत्र भण्डारण गरी  विद्यार्थीसँग आर्थिक मूल्य ताेकेर बेचेकाे ठाेकुवा गरिएकाे छ । त्यस्तै, मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन प्राध्यापक डा. ताराप्रसाद भुसाल परीक्षा समितिको अध्यक्ष समेत भएकोले कोही कसैले केही गर्न नसक्ने भन्दै अख्तियार विपरीत प्रश्नपत्रको गोपनीयता उल्लंघन गर्ने कार्यमा तल्तीन रहेका उजुरीमा ठाेकुवा गरिएकाे छ ।

उजुरी रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थीहरूले आयोगका प्रमुख आयुक्तलाई सम्बोधन गरी दर्ता गराएका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार २०:५२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।