Logo

प्रमुख समाचार

कांग्रेसले किन टार्‍यो नीति महाधिवेशन ?



काठमाडौं । १४ औँ महाधिवेशनमा नेतृत्व चयनमात्रै गरेर अलग्गै नीति महाधिवेशन गर्ने घोषणा गरेको कांग्रेस डेढ वर्षपछि नीति महाधिवेशन नगर्ने निष्कर्षमा पुगेको छ।

नेतृत्व चयन र नीतिमाथिको बहस एकै पटक गर्दा सबैको ध्यान नीतिभन्दा नेतृत्वमा केन्द्रित हुने र नीतिमाथिको बहस कमजोर हुने निष्कर्षसहित त्यसबेला कांग्रेसले छ महिनाभित्र अलग्गै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । जबकि त्यस्तो अभ्यास विगतमा कहिल्यै भएको थिएन, न त त्यसबारे विधानमै कुनै व्यवस्था छ ।

नीति महाधिवेशनपछि गर्ने म्याण्डेडसहित महाधिवेशनबाट नेतृत्वमा चुनिएका नेताहरूले डेढ वर्षसम्म त्यसबारे सामान्य छलफलसमेत गरेनन्। बरू आफू अनुकूलको नीति अवलम्बन गर्ने नेताहरूका लागि नीति महाधिवेशन गर्ने घोषणा झमेलाको विषय बन्यो, अन्ततः पार्टीको विधानले नै त्यसबारे उल्लेख नगरेको भन्दै नेताहरूले नीति महाधिवेशन गर्ने विषयलाई राफसाफ गरेका छन् । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाटै पहिले घोषणा भएबमोजिम नीति महाधिवेशन नगर्ने र तत्काल पार्टी विधानको व्यवस्थाबमोजिम महासमिति सदस्यहरूको भेला गर्ने निर्णय लिएको छ ।

प्रवक्ता प्रकाशशरण महतले महाधिवेशनका बेला नीति महाधिवेशन गर्ने निर्णय भए पनि समय अभावका कारण नीति महाधिवेशन गर्न नसकिएको स्वीकारे । ‘नीति र नेतृत्व चयन एकैपटक असहज हुनेरहेछ, हतारमा नीतिमाथिको छलफल सम्भव थिएन, त्यो बेला पार्टीले अलग्गै नीति महाधिवेशन गर्ने प्रस्ताव पारित गर्‍यो,’ उनले भने, ‘तर महाधिवेशनपछि हामीलाई आमनिर्वाचनले छोप्यो, त्यो स्पिरिडमा नीति महाधिवेशनको विषय अघि बढेन, र समयमा गर्न सकिएन ।’ केन्द्रीय कार्यसमितिले नीति महाधिवेशनको मर्मअनुसार नै महासमिति बैठक बोलाउने निर्णय लिएको उनको दाबी छ ।

कांग्रेसको विधानमा नीति महाधिवेशनबारे कुनै व्यवस्था छैन । तत्कालीन विधानमा नभए पनि छ महिनाभित्र नीति महाधिवेशन गर्ने विषय १४ औँ महाधिवेशनको हलले पारित गरेको थियो, त्यसअनुसार त्यो निर्णय नै विधानको व्यवस्थाबराबर हो ।

विधानमा उल्लेख भएबमोजिम केन्द्रीय महाधिवेशनपछि पार्टीको अर्को ठूलो निकाय महासमिति भेला नै हो । नीति महाधिवेशन बोलाउँदा केन्द्रीय महाधिवेशनका सबै प्रतिनिधिलाई सामेल गराउनुपर्छ । जबकि महासमिति भेलामा महासमिति सदस्यहरूलाई मात्रै सहभागी गराए पुग्छ । गत महाधिवेशनमा देशभरबाट ४६ सय प्रतिनिधि सहभागी थिए । महासमिति बैठकमा सहभागीको संख्या दुई हजारको हाराहारीमात्रै हुन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार १०:००   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।