Logo

प्रमुख समाचार

दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या भयो : अध्यक्ष नेपाल



काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुँजीवादका कारण राज्यको अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् ।

आइतबार समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलाल पुँजीवादले अर्थतन्त्रमा धेरै ठुलो समस्या खडा गरेको टिप्पणी गरेका हुन् ।

‘समाजवादको कुरा गर्दा अहिले संसारमा दुई वटा व्यवस्था क्रियाशील छ । एउटा पँजीवादी व्यवस्था अर्को समाजवादी व्यवस्था । हाम्रो देशमा पनि दलाल तथा नोकरशाही पुँजीवादले धेरै ठुलो समस्या खडा गरिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘यो शिक्षा क्षेत्रमा पनि हाबी छ, राज्यको अर्थतन्त्रमा पनि हाबी छ । राज्यको प्रशासनमा पनि हाबी छ । र यो व्यवस्थालाई नै कुरूप बनाउने कुरामा पनि जिम्मेवार छ ।’ अध्यक्ष नेपालले दलाल पुँजीवादका विरुद्ध जुध्ने सङ्कल्प नगरेसम्म नेपालमा समाजवादको आधार तयार हुन नसक्ने पनि बताए ।

उनले नेपाली समाजलाई समाजवादतर्फ उन्मुख गर्न र नेपालको अर्थतन्त्रलाई समाजवादको दिशामा लान चाहेको बताए । नेपालको शिक्षा प्रणालीदेखि लिएर स्वास्थ्य प्रणालीसम्म समाजवादको मान्यता अनुरुप अगाडी बढाउनुपर्ने उनको भनाइ छ ।

समाजवाद न्यायका लागि हुने भन्दै त्यसका लागि सबै एकजुट हुन जरुरी रहेको पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार १६:१७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।