एजेन्सी । अफगानिस्तानमा जारी काबुल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा एक ब्याट्सम्यान सेदिकुल्लाह अटलले गजबको प्रदर्शन गरेका छन् । काबुल प्रिमियर लिगमा शनिबार साहिन हन्टर्स र अबासिन डिफेन्डर्सबीचको खेल थियो ।
साहिन हन्टर्सले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको थियो । केवल २९ रनको कूल स्कोरमा साहिन हन्टर्सले माथिल्ला तीन विकेट गुमाएको थियो । चौथो नम्बरमा क्रिज सम्हालेका २१ वर्षीय ब्याट्सम्यान सेदिकुल्लाह अटल अविजित एक सय १८ रनको योगदान गरे । उनले केवल ५६ बलको सामना गरी १० छक्का र सात चौका हिर्काए ।
साहिन हन्टर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । उनकै उत्कृष्ट प्रदर्शनका कारण साहिन हन्टर्स ९२ रनले विजयी पनि भयो ।
यतिमात्र होइन, सेदिकुल्लाह अटलले १९औं ओभरमा त गजब नै गरे । उनले एकै ओभरमा लगातार सात छक्का प्रहार गरे । उनले अबासिन डिफेन्डर्सका बलर अमिर जजाईलाई लगातार सातवटा छक्का प्रहार गरेका थिए । एक ओभरमा ६ छक्का त यसअघि पनि धेरै ब्याट्सम्यानले प्रहार गरेका छन् ।
तर, एक ओभरमा सात छक्का भने निकै दूर्लभ प्रदर्शन हो । अमिर जजाईले १९ औं ओभरको पहिलो बल ‘नो बल’ फालेका थिए । त्यो बलमा सेदिकुल्लाह अटलले छक्का हिर्काए । त्यसलगत्तै अमिर जजाईले अर्को बल ‘वाइड’ फाले । त्यो बलमा साहिन हन्टर्सले पाँच रन पायो ।
पहिलो ‘नो बल’ र दोस्रो ‘वाइड’ भएकाले त्यसपछि पनि अमिर जजाईले ६ बल फाल्न बाँकी नै थियो । सेदिकुल्लाह अटल अमिर जजाईको बाँकी ६ बलमा पनि लगातार छक्का हिकाए । उक्त ओभरमा साहिन हन्टर्सले कूल ४८ रन पायो ।
उक्त प्रदर्शनपछि सेदिकुल्लाह अटलले आफूलाई विश्व क्रिकेटका महान खेलाडीहरुको सूचीमा उभ्याएका छन् । यसअघि थुप्रै ब्याट्सम्यानले एक ओभरमा ६ वटा छक्का हिर्काएका छन् । तर, एकै ओभरमा सातवटा छक्का भने दूर्लभ कीर्तिमान हो ।




















प्रतिक्रिया