Logo

अर्थ

कहाँ पुग्यो लघुवित्त पीडितको आन्दोलन, अर्थमन्त्रालय र राष्ट्र बैंकले के गर्दैछ ?



काठमाडौँ । लघुवित्त पीडितहरुको गुनासो सुन्नका लागि नेपाल राष्ट्र बैंकले खडा गरेको ईकाइमा गुनासो टिपाउने भन्दा थप प्रगति नभएको राष्ट्र बैंकले जनाएको छ । लघुवित्त समस्या समाधानका लागि समिति नै बनाएर अध्ययन गरिरहेको भनेको केन्द्रीय बैंकले सदस्यहरुको गुनासो सुन्न छुट्टै डेक्स स्थापना गरेको थियो । पीडितहरुले छिट्टै राहतको अपेक्षा गरेपनि राष्ट्र बैंकले तत्काल गुनासो टिपाउने भन्दा थप काम हुन नसकेको प्रतिक्रिया दिएको हो ।

यतिखेर देशभरका लघुवित्त पीडितहरु वित्तीय शोषणका विरुद्ध आन्दोलित भएका छन् । लघुवित्त संस्थाहरुले चर्को ब्याज असुल गरेको र किस्ता उठाउन गाउँघरमा अराजकता मच्चाएको भन्दै लघुवित्त खारेजीको माग गर्दै यतिखेर विभिन्न जिल्लाका पीडितहरु लघुवित्त खारेजीको माग गर्दै काठमाडौँको माइतिघरमा आन्दोलनरत छन् । यता राष्ट्र बैंकले भने गुनासो दर्ता गराउने भन्दा तत्काल अरु काम गर्न नसकिने संकेत गरेको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार लघुवित्त पीडितहरुको समस्या जटिल प्रकृतिको भएको बताउँछन् ।

‘धेरै लघुवित्तका सदस्यहरु समूहगत जमानीमा बस्ने गरेको र एकले ऋण नतिर्ने बित्तिकै अर्को सदस्य स्वतः कालोसूचिमा पर्ने हुँदा यो समस्या सुल्झाउन त्यति सहज छैन,कतिपयले ऋण मिनाहा सम्मको कुरा गरेका छन् जुन सम्भव नै छैन, लघुवित्तको पैसा पनि कसैको निक्षेप हो त्यो त फिर्ता गर्नै पर्ने हुन्छ ।’होला बरु किस्ता अवधि थप गर्ने, व्याजमा केही सहुलियत बनाउनेसम्म हुनसक्छ ।’‘राष्ट्र बैंकले हजारौँ लाखौँ लघुवित्त सदस्यहरुका गुनासा सम्बोधन गर्न सक्ला नसक्ला अहिलेलाई गुनासो टिपाउने काम भने भइरहेको छ,त्यो भन्दा बढी केही भएको छैन ।’ पोखरेलको भनाई छ ।

राष्ट्र बैंकका अनुसार अहिले लघुवित्त पीडितहरुले पैसा नलाग्ने फोन नम्बर १८१०५००००२२ मार्फत गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो दर्ता गर्न सक्नेछन् । यस्तै राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टलबाट वा इमेल मार्फत पनि गुनासो दर्तौ गर्न सकिने छ । साथै नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा पुगेर पीडितहरुले निवेदन दर्ता गराउन सक्ने छन् ।

पीडितहरुसँग वार्ता जारी छ, लगत संकलनको काम भैरहेको छ : अर्थमन्त्रालय

अर्थमन्त्रालयले गत बिहीवार माइतिघरमा धर्ना र अनसनमा रहेका पीडितहरुसँग वार्ता गर्ने सहमति गरेको थियो । हाल पीडित पक्षसँग वार्ता जारी रहेको र पीडित पक्षले अनशन तोडेको अर्थमन्त्रालयका सहसचिव भुपाल बरालले जानकारी गराए । ‘वार्ता जारी छ, उहाँहरुले राख्नुभएको एजेण्डा जटिल किसिमको छ, एउटा दुइटा बैठकलेनै निष्कर्शमा पुग्न मुश्किल छ , यद्यपि हामीले प्रयत्न गरिरहेका छौंँ, वार्ता सकारात्मक नै छ,।’ बरालले भने । बरालका अनुसार हाल लघुवित्त पीडितहरुको लगत संकलनको काम भैरहेको छ । पीडितहरुसँग वार्ता गर्न सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहेको वार्ता टोली गठन गरिएको छ ।

लघुवित्तको सञ्चालनमा कमिकमजोरी

त्यसोत आजको यो अवस्था आउनुमा लघुवित्तको सञ्चालनमा कमिकमजोरी देखिन्छ । एकै व्यक्तिलाई १७ वटासम्म लघुवित्तले ऋण दिएको देखिएको छ, एक व्यक्तिले कतिवटा संस्थाबाट कर्जा लिन पाउने हो भन्ने सम्वन्धमा रेकर्ड कर्जा सूचना केन्द्रमा नहुनु र ऋण लिनेले पनि पायो भन्दैमा अन्धाधुन्ध समूहमा जमानी बस्दै ऋण लिनुले यो समस्या विकराल बन्न पुगेको बुझिन्छ । त्यसले मल्टिपल ल्याण्डिङ भएर एउटै व्यक्तिलाई ऋणको भार थुप्रिएको देखिन गयो ।

पछिल्लो समय आर्थिक मन्दीसँगै अर्थतन्त्रमा संकट देखिँदा एकातिर लघुवित्तले ऋणीहरुलाई ऋण तिर्न ताकेता गर्नु अर्कोतिर व्यक्तिको आम्दानी खुम्चिँदा ऋण तिर्न नसक्ने अवस्था आउनुले लघुवित्तको यो संकट पैदा भएको बुझ्न कठिन छैन । ग्राहकहरूले धेरै लघुवित्त संस्थाहरूसँग ऋण लिएकाले सबैले फोन गरेर ऋण उठाउन ताकेता गर्दा यो समस्या आएको हो । साथै लघुवित्तको ब्याजदर,सेवा शुल्क नियमन निकायले तोकेबमोजिम नहुने र अधिकांश लघुवित्तहरु तत्काल नाफा कमाउने रफ्तारमा जाँदा पनि यो समस्या आएको जानकारहरु बताउँछन् ।

त्यस्तै,लघुवित्तको सदस्य भएर ऋण लिने व्यक्तिहरूले पनि वित्तीय साक्षरता बैंक तथा वित्तीय संस्थाहरूबाट लिने ऋणको विषयमा जानकारी नलिनु पनि समस्याको अर्को कारक हो । राष्ट्र बैंकबाट शुरुवाती दिनहरुमा धेरै संस्था खोल्न लाइसेन्स दिइनुले पनि यो समस्या बल्झाएको लघुवित्त विश्लेषकहरु बताउँछन् । यसरी लाइसेन्स दिँदा धेरै संस्था दर्ता भए, नयाँ नयाँ व्यावसायिक क्षेत्रका लगानीकर्ताहरू पनि यतै आकर्षित भए,यसो हुँदा लघुवित्तको मर्म बुझ्नेभन्दा फरक लगानीकर्ताहरूको यस क्षेत्रमा प्रवेश भयो । जथाभावी संस्थाको गुणस्तर नहेरी लाइसेन्स दिने परिपाटीले लघुवित्तहरू नाफामा मात्रै केन्द्रित हुन थालेको र आजको भयावह स्थिती पैदा गरेको विज्ञहरु बताउँछन् ।

 

 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १७:०९   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।