विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिपरिषद् समेत बनाएका छन् । सरकार बनाउनकै लागि सभामुख पदबाट राजीनामा दिएका माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय जिम्मा दिइएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु गरी तीन मन्त्रीले मुख्यमन्त्री थापासँगै बुधबार नै शपथ लिएका छन् ।
माओवादीभित्र मन्त्री छनोटमा सहमति नजुट्दा बिहान १० बजेकोका लागि तोकिएको मुख्यमन्त्री र मन्त्रीको शपथ ग्रहण कार्यक्रम साँझ सारिएको थियो । सभामुख पद खोसिएका गौतमलाई मन्त्री बनाउने निर्णयमा भएको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यले अन्तिम समयमा मन्त्रीमा दाबी गरेपछि माओवादीभित्र बढेको विवादले शपथ ग्रहण सारेको थियो ।
यसअघिको नियुक्ति सर्वोच्चले खारेज गरेसँगै कांग्रेसका कोशीका संसदीय दलका नेता थापा मंगलबार दोस्रो पटक नियुक्त भएका हुन् ।




















प्रतिक्रिया