Logo

राजनीति

वर्षाैंदेखि मारवाडीहरूले कौडीको भाउमा प्रयोग गर्दै आएका गौशाला धर्मशालाको नयाँ सम्झौता प्रक्रिया सुरू



काठमाडौं । मारवाडी सेवा समितिले २० वर्षदेखि कौडीको भाउमा प्रयोग गर्दै आइरहेको पशुपतिस्थित गौशाला धर्मशालाको नयाँ सम्झौता प्रक्रिया सुरु भएको छ । पूरानो सम्झौता खारेज गर्दै भाडा पुनरावलोकन गरी पुनः सम्झौता लागि १५ दिनको म्याद दिइएको छ ।

बुधबार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले सो निर्णय गरेको हो । मारवाडी सेवा समितिले २०६० जेष्ठ ९ गतेबाट क्षेत्र विकास कोषको गौशलामा रहेको ९ रोपनी १४ आना जग्गा वार्षिक ५१ हजारमा प्रयोग गर्दै आइरहेको थियो ।

कोष सञ्चालक परिषद्को २०६० जेठ ९ गतेको निर्णयअनुसार पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि त्यसै वर्ष जेठ १२ गते सम्झौता भएको थियो । कोषसँग गरिएको भनिएको समितिलाई कहिलेसम्म सञ्चालन गर्न दिने सम्झौता, कति भाडा दिने भन्ने समेत उल्लेख छैन ।

कौडीको भाउमा भाडा लिई उक्त जग्गामा मारवाडी सेवा समितिले धर्मशाला सञ्चालन गर्दै आइरहेको छ । धर्मशालको नाममा शुल्क समेत लिँदै आएकोले जनस्तरमा यसको चर्को विरोध भइरहेको बेला क्षेत्र विकास कोषले भाडा पुनः मूल्याङ्कन गरी सम्झौता गर्न १५ दिनको म्याद दिने निर्णय गरिएको हो ।

२० वर्षको अन्तरालमा कोषले पटक पटक सम्झौता नवीकरण गर्न आग्रह गर्दा मारवाडी समाजले अटेरी गर्दै आएको थियो । क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रचलित कानुन, अख्तियार अनुसन्धान आयोगको निर्देशन र सर्वोच्च अदालतको फैसलाको आधारमा समय सापेक्ष सम्झौता र दिर्घकालीन समस्या समधानका लागि आजसम्मको सम्झौता खारेज गर्ने निर्णय गरेको बताए ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान र सर्वोच्च अदालतले समेत भाडा पुनः नवीकरण गर्नु भनेर निर्णय गरेको थियो । संसद्को सार्वजनिक लेखा समिति, सतर्कता केन्द्र र महालेखा परीक्षकको कार्यालयले समेत कोषको हित प्रतिकूल रहेको सम्झौता रद्द गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार २०:१७   :  बजे

675
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।