Logo

अर्थ

कारबाहीबाट बच्न अदालतबाट ‘स्टे अर्डर’ लिने र प्रशासन धाउने मिटरब्याजी बढे  

नाम चलेका साहु नै मिटरब्याज असुल्ने गिरोह, बच्न राजनीतिक ठाउँ खोज्दै



ललितपुर । मिटरब्याजी विरुद्ध मुद्दा दर्ता हुन थालेपछि ललितपुरमा अदालतबाट स्टे अर्डर लिने र प्रशासन धाउने मिटरब्याजीहरुको संख्या बढेको छ । ललितपुरका नाम चलेका मिटरब्याजीहरुलाई जिल्ला प्रशासन कार्यालयले कार्वाही गर्न सुरु गरेपछि अदालती प्रक्रियामा गएर स्टे अर्डर लिनेको संख्या बढेको हो ।

जिल्ला प्रशासन ललितपुरले मिटरब्याजी पीडित रविन्द्र चौलागाँई लगायत विभिन्न व्यक्तिहरुले दर्ता गरेको फाइल खोलेर अनुसन्धान अघि बढाउन थालेपछि मिटरब्याजी पीडितहरु सल्बलाउन थालेका हुन । मिटरब्याजबाट ललितपुर जिल्लामै सबैभन्दा बढी पीडित देखिएका चौलागाई समस्यामा रहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष समेत हुन् । यो सहकारी समस्यामा पर्नुमा मिटरब्याजीको भूमिका मुख्य रहेको देखिएको छ ।

चौलागाँई लगायत जिल्लाका अन्य पीडितहरुलाई मिटरब्याजमा ब्याज असुल गर्ने पाँचजना मुख्य अभियुक्तहरु भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार मिटरब्याजमा सबैभन्दा बढी ठगी गरेको आरोप रवी महर्जनलाई लागेको छ । ललितपुर सुनाकोठीका महर्जन ४ बर्ष अघिसम्म सामान्य रेष्टुरेन्टमा काम गर्थे । तर अहिले उनी करोडौंको मालिक बनेका छन् । मिटरब्याजकै धन्दाका कारण उनको सम्पत्ति थुप्रिएको आशंकामा प्रहरीले समेत अनुसन्धान गरिरहेको छ ।

उनको हाल भैंसेपाटीमा ३ रोपनी जग्गामा घर, खोकनामा ५ रोपनी जग्गामा कर्मा कन्ट्रक्सन रहेको सिमेन्ट तथा डन्डी बेच्ने कम्पनी, टाटा कम्पनीको टिपर ३० ओटा, टोयोटा कम्पनीको फचुनर गाडी, पजेरो गरी करिव एक अर्बको सम्पत्ति देखिएको स्रोतको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले अझै अकूत सम्पत्ति हात पारेको हुनसक्ने आशंका रहेको देखिन्छ । उनका कारण अझै धेरै पीडित रहेको हुनसक्ने आशंका प्रहरीको छ ।

मिटरब्याजी पीडितले दिएको उजुरीको आधारमा सिताराम राउतले समेत धेरैसँग बढी पैसा असुल उपर गरेको आशंका गरिएको छ । गुडवील सहकारीका मेनेजर रहेका राउतले उक्त संस्थाको बचतकर्ताको करिव एक अर्ब बचत हिनामिना गरी भागेको पीडितहरु बताउँछन् । उनको नाममा गुडवील सहकारीबाट बचतकर्ताको एक अर्ब हिनामिना भएको आरोप छ ।

यस्तै मुद्दामा जेल समेत पुगेका उनी पछि धरौटीमा छुटेका थिए । त्यसपछि बचतकर्ताको बचत फिर्ता नदिइ उनले नयाँ जनप्रिय सहकारी खोलेर काम सुरु गरेका थिए । उनको करेन्ट गुट्खा नाम गरेको कम्पनी समेत रहेको छ । देउराली सहकारीबाट पनि कर्जा लिइ लिएको टोयटा गाडीको करिव ३ करोड ५० लाखको भिएक्स सेतो र कालो दुइ वटा गाडी, मिट्सुविसिको पजेरो, स्र्पोट गाडी सहित करिव ५० करोड बराबरको नगद राउतले हिनामिना गरिदिएको उक्त सहकारी संस्थाका अध्यक्ष चौंलागाईँ बताउँछन् ।

न्युरोडको मख्खनमा रहेको देविवास र किर्तिपुरको पाँगा बसपार्कमा रहेको ज्वालादेवि सहकारीका अध्यक्ष देबेन्द्र आचार्य, शैलेन्द्र शर्मा (टिपटप समोसा साहु), बासु श्रेष्ठ, हार्वेष्ट मुन ट्रावलको साहु र हार्डवयर ब्यापारी विक्रम बानियाँलगायत मिलेर सर्बसाधारणले सहकारीमा बचत गरेको सहकारीको पैसा मिटरब्याजमा लगाई अरबौ कमाएको आरोप छ। त्यसपछि पनि बचतकर्ताको पैसा फिर्ता नदिएको भन्दै बचतकर्ताहरुलाई नै मिटरब्याजमा पैसा असुल गरेको आरोप लागेको छ ।  देवेन्द्र आचार्यले ललितपुरको देउराली सहकारीका अध्यक्ष रबीन्द्र चौलागाईँको पनि धेरै रकम हिनामिना गरेको आरोप छ ।

त्यस्तै रेमण्ड सुटका साहु सञ्जय अधिकारी, मोहन घिमिरे, विशाल भारीले पनि करौडौं रुपैयाँ मिटरब्याजबाट लिएको आरोप लागेको छ । ललितपुर भैंसेपाटी निवासी रुविन मर्हजन ललितपुर उद्योग वाण्ज्यि संघ पूर्व अध्यक्ष रुपेस मर्हजनका आफ्नै भाइ हुन् । उनले समेत देउराली सहकारीबाट १५ करोड नगद मिटरब्याजमार्फत असुल उपर गरेको आरोप लागेको छ। उनले ललितपुर उच्च अदालतबाट स्टे अर्डर लिएर कारबाहीबाट बच्न प्रशासनमा धाइरहेको आरोप लागेको छ ।

यी सबै मिटरब्याजीले चलनचल्तीको भनद करोडौं बढी पैसा लिएर नागरिकलाई पीडित बनाएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ११:२०   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।