काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्षको विकल्न नखोजेको स्पष्ट पारेका छन् । बुधबारदेखि काठमाडौंमा जारी पार्टी केन्द्रीय समिति बैठकमा शनिबार धारणा राख्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्न नखोजेको तर उत्तराधिकारी तयार पार्ने विधिको खोजीमा लाग्नुपर्ने प्रस्ताव राखेका छन् ।
बैठकमा उपमहासचिव पुनले भने, ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प कसैले खोजेको छैन । उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने भएको छ ।’ माओवादीमा देखिएको अहिलेको समस्या विचारको नभई विधिको भएको धारणा उखले राखे ।
पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको भन्दै पुनले वर्गसंघर्ष र राजनीतिक संघर्षको रूप फेरिएको बताए । यस्तो अवस्थामा सरकार प्रमुख मोर्चा भएको निष्कर्ष उनको थियो ।
बैठकमा पुनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई पार्टी पुनःनिर्माणको मौकाको रुपमा सदुपयोग गर्नुपर्ने बताए । भ्रष्टाचारविरुद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको उनको भनाइ थियो ।
पुनले पार्टी निर्माणका लागि गुट र उपगुट अन्त्य गरेर जानुपर्ने बताएका थिए । ‘गुटउपगुट सबै अन्त्य गरेर बलियो पार्टी निर्माण गरौं, म योगदान गर्न तयार छु’, उनले भने ।
त्यस्तै, जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुने धारणा पुनको थियो । आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा उनले जोड दिए । ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ,’ पुनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।’
- याे पनि…
सुन तस्करी प्रकरणबारे वर्षमान पुनले भने– ‘दोषी प्रमाणित भए कानुनी कठघरमा उभिन तयार छु’




















प्रतिक्रिया