Logo

अर्थ

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार सेयर बाँडफाँट गरेको हो ।

सन नेपाल लाइफले साउन १ देखि साउन १५ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा सेयर निष्काशन गरेको थियो।

बिक्री प्रबन्धकका अनुसार यस निष्काशनमा कुल २७ हजार ९ सय ५ जनाले आवेदन दिएकोमा ४ जनाको आवेदन रद्द भई क्य्ल २७ हजार ९ सय १ जना मात्र सेयर पाउन योग्य भएका छन् ।

बाँडफाँट मोडल अनुसार १० देखि ४० कित्तासम्मको लागि आवेदन दिने ९ हजार ७४ जना आवेदकले माग गरे अनुसार नै सेयर पाएका छन् । त्यस्तै ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदकले समान ४० कित्ता शेयर पाएका छन् । ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदक मध्ये १६ सय २८ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् ।

आईपीओको नतिजा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट, मेरोशेयरको वेबसाइट र सिडीएसले आईपीओको नतिजा हेर्न तयार पारेकोको वेबसाइटबाट हेर्न सकिने छ ।

श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँट गरिएसंगै अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २४ करोड रहेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड पुग्ने छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १३:२९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।