Logo

शिक्षा

सोह्रौँ पुस्तकालय दिवस आयोजक समिति गठन



काठमाडाैं । सोह्रौँ पुस्तकालय दिवस, २०८० मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीका अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सो मन्त्रालयका सहसचिव दीपक शर्मा र सदस्यसचिवमा मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख यादवचन्द्र निरौला रहेका छन् ।

समितिको आज सिंहदरबारमा भएको पहिलो बैठकमा नेपालको पुस्तकालय क्षेत्रको विकास र विस्तारमा संलग्न सबै सरोकारवालाको सहभागितामा हुने गरी आवश्यकतानुसार समितिलाई थप विस्तार गर्ने निर्णय भएको छ । बैठकले दिवसको आदर्श वाक्य ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ तय गर्नाका साथै विभिन्न उपसमिति गठन गरेको छ ।  गत वर्षको दिवसको आदर्श वाक्य ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’  रहेको थियो । यो दिवस हरेक भदौ १५ गते मनाइन्छ ।

बैठकले उपाध्यक्ष शर्माका संयोजकत्वमा सम्मान तथा पुरस्कार उपसमिति, सदस्यसचिव निरौलाका संयोजकत्वमा प्रकाशन उपसमिति, नेपाल पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेयका संयोजकत्वमा प्रचारप्रसार उपसमिति, तुलसा संस्थाका अध्यक्ष महेश खनालका संयोजकत्वमा सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिको गठन भएको प्रचारप्रसार उपसमितिका संयोजक पाण्डेयले जानकारी दिए ।

नेपालमा औपचारिक रूपमा विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गरी यो दिवस मनाउन थालिएको हो । तत्कालीन राजा गिर्वाणयुद्ध शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी गरी पुस्तकालयको स्थापना भएको थियो । हाल सामुदायिक र सार्वजनिक गरी करिब सात सय पुस्तकालय रहेका छन् भने संस्थागत (कार्यालयगत) रुपमा पनि अन्य पुस्तकालयहरु सञ्चालित छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार २१:२३   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।