Logo

प्रमुख समाचार

कांग्रेसमा दुई धार : संस्थापन दाहालतिर इतर पक्ष ओलीतिर



सत्तारुढ नेपाली कांग्रेसमा सुन तस्करी छानबिनका विषयमा मतभिन्नता देखिएको छ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सांसदहरू गुटगत आधारमा प्रस्तुत भएका छन्। सभापति शेरबहादुर देउवा निकट सांसद तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय समिति गठनको विपक्षमा उभिएका छन्। तर संस्थापन इतर सांसद सरकारको कार्यशैलीप्रति आशंका व्यक्त गर्दै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने पक्षमा देखिएका हुन्।

कांग्रेस संस्थापन इतर सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गरेजस्तै उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा उभिएका छन्। बैठकमा नेता शेखर कोइरालासहित जीवन परियार, चन्द्र भण्डारी, सञ्जय गौतम, रामकृष्ण यादव, सीता मिजारलगायतले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने धारणा राखेका छन्।

नेता कोइरालाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाएर गहिरो छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए। प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संघीय संसद्का बैठक अवरुद्ध गर्दै आएको छ। यसै सन्दर्भमा कोइरालाले संसदीय दलको बैठकमा उच्चस्तरीय समिति गठनको विकल्प नभएको धारणा राखेका हुन्।

प्रधानमन्त्रीको निजी सचिवालयमा रहेका नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको प्रमुख बनाएर पठाएको सात दिनमा तस्करीको सुन समातिएकाले आशंका जन्माएको धारणा पनि उनले राखे। ‘उहाँ जानेबित्तिकै सुन समातिएको छ, त्यसपछि त्यसको अनुसन्धान गर्न सिआइबीलाई दिन पनि आनाकानी गरियो,’ कोइरालालाई उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने, ‘त्यसपछि के भइरहेको छ हामी सबैलाई थाहै छ। सुन तस्करी रोक्ने हो भने उच्चस्तरीय छानबिन समिति बनाएर जरोसम्मै छानबिन हुनु जरूरी छ।’

संस्थापन इतर सांसदले सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्रीसहित माओवादी नेताहरूको नाम जोडिए पनि उनीहरूलाई अनुसन्धानको दायरामा नल्याइएकाप्रति आशंका व्यक्त गरेका छन्। आफ्नालाई जोगाउने र अन्य पार्टीका नेता–कार्यकर्तालाई फसाउनेतर्फ सरकारको नेतृत्व गरेको माओवादी केन्द्र लागेको त होइन भन्ने आशंका उनीहरूको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार ०७:५६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।