Logo

अनलाइनपाना खोज

मन्दिरको जग्गा हडप्ने ताम्राकार कम्प्लेक्स्का मालिकलाई वडाध्यक्षको साथ, ३४ कम्प्लेक्सबाट अवैध असुली



काठमाडौँ । अधिकांश सार्वजनिक सम्पत्ति यतिबेला हराउँदै र मासिँदै गएको छ । अझ शहरी इलाकामा खुलेआम सार्वजनिक मठ मन्दिर हडपेर माफियाहरुले कब्जा जमाउने र बिस्तारै व्यापारिक केन्द्र बनाएर अड्डा जमाउँदै आएका छन् । यस्तोमा सम्वन्धित स्थानीय निकायले सरकारी सम्पत्तीको खोजीनीति गरी संरक्षण गर्नुपर्ने हो । तर उल्टै पैसाको प्रलोभनमा तिनै माफियाहरुसँग साँठगाँठ मिलाएर रकम कुम्ल्याएपछि कसको के लाग्छ र ?

हो, न्यूरोडमा रहेको ताम्राकार ‘कम्प्लेक्स’ले सरकारी जग्गा अतिक्रमण गरी मन्दीरनै सटरभित्र पारेर मंहगो भाडामा लगाउँदै आएपनि महानगरपालिकाको ध्यान पुग्न सकेको छैन । अनलाइनपानाले काठमाडौंको न्यूरोडस्थित राधाकृष्ण मन्दिरको जग्गा हडपेर ताम्राकार कम्प्लेक्स बनाइएकोबारे वडा कार्यालय समक्ष जानकारी गराउँदा समेत वडा कार्यालयले समेत चासो नदिई उल्टै कम्प्लेक्सका मालिक प्रदिपरत्न ताम्राकारसँग मिलेमतो गरेको बुझिएको छ ।

यता स्थानीयहरूले उक्त मन्दिर धार्मिक मात्रै नभएर पुरातात्विक सम्पदा भएपनि व्यापारिक साँठगाँठका आधारमा ताम्राकारले बलमिच्याइँ गरेर कम्लेक्स खडा गरेको बताउँदै आएका छन् । शुरुमा ३ आना २ पैसा ३ दाम क्षेत्रफलमा बनेको मन्दिर अहिले आइपुग्दा घटेर ३ आनाभन्दा पनि कम क्षेत्रफलमा रहेको छ ।

कम्प्लेक्सका मालिक प्रदिपरत्न ताम्राकारले मन्दिरको जग्गा हडपेर भवन बनाएको नापी विभागबाट प्राप्त नक्सा हेर्दा प्रष्ट हुन्छ ।अनलाइन पानालाई उपलब्ध नक्सा तथा फिल्डबुकमा मन्दिरको जग्गा ३ आना २ पैसा ३ दाम तोकिएको छ । तर त्यहाँ पुगेर हेर्दा मन्दिर सो क्षेत्रफलमा बनेको देखिँदैन । वरपर मोबाइल पसल छन् । जसले मन्दिरलाई चारैतिरबाट घेरेका छन् ।

न्यूरोड एरियाका ३४ वटा व्यापारिक कम्प्लेक्सबाट वडाअध्यक्षको अवैध असुली

उक्त क्षेत्रमा ताम्राकार कम्प्लेक्स मात्रै नभई रणमुक्तेश्वर, न्यूरोड पिपलबोट, खिचापोखरी आसपास र संकटा मन्दीरले चर्चेको जग्गाहरुमा समेत सम्वन्धीत वडा नं २२ का वडाअध्यक्ष चिनकाजी महर्जनले पारिवारिक समिति गठन गर्दै मन्दिरले चर्चेको जग्गालाई भाडामा लगाई अवैध असुली गरेको स्थानीय बासिन्दाहरुको दाबी रहेको छ ।

त्यति मात्र नभई सो वडा भित्र रहेका ३४ वटा व्यापारिक कम्प्लेक्समा समेत उनकै योजनामा कम भाडादर कायम गरि किर्ते कागजात बनाउन लगाएर राजश्व छली गर्दै कम्प्लेक्स सञ्चालकसंग मासिक लाखौ रुपैयाँ व्यक्तीगत रुपमा असुली गर्दै आएको एक पसल सञ्चालकले बताए ।

यस विषयमा काठमाडौं महानगरपालिका वडा नं २२ का वडाध्यक्ष चिनकाजी महर्जनसँग कुरा गर्दा आफुले कुनै गैरकानूनी काम नगरेको र आवश्यक परे नापी गराएर अगाडि बढ्न सुझाव दिए ।सोही अनुरुप अनलाइन पानाले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा काठमाडौँ महानगर र नापी विभागलाई नापी गरिदिन पत्राचार गरिसकेको छ ।

मन्दिरमा नियमित पूजापाठ समेत हुन पाएन

कम्प्लेक्स्का मालिक प्रदीप ताम्राकारको रवाफकै कारण राधाकृष्ण मन्दिरमा अहिले नियमित पूजापाठ पनि हुन दिइएको छैन । मन्दिरको जग्गा मासेर कम्प्लेक्स खोलेका ताम्राकारले मन्दिरलाई नै सटर भित्र थुनेर राख्ने गरेका छन् । यसका साथै कम्प्लेक्सले २ पैसामा बनेको पुरानो इनार पनि मासेको पाइएको छ । नापी विभागद्वारा उपलब्ध फिल्डबुकमा इनार प्रष्ट रुपमा खुलाइएपनि त्यहाँ न त इनार नै छ न त इनारको खाली जग्गा नै ।

यस विषयमा ताम्राकारसँग कुरा गर्दा ‘मेरो जग्गा मसँगै छ बाँकी कुरा मलाई थाहा छैन् मैले गुठीसँग लिएको हो गुठीलाई सोध्नुस’ भन्ने जवाफ दिए । यस विषयमा त्यहाँका स्थानीयसँग कुरा गर्दा पहिला पनि यस विषयमा विवाद उत्पन्न भएको र ताम्राकारले हरेक पल्ट पैसा दिएर सामसुम बनाउने गरेको बताए ।

वडाध्यक्ष मर्हजन ताम्राकार कम्प्लेक्सका पूर्व मेनेजर

त्यसो त काठमाडौँ महानगरपालिका वडा नं २२का हालका वडाध्यक्ष चिनकाजी मर्हजन ताम्राकार कम्प्लेक्समा वडाअध्यक्ष हुनुअघि कम्प्लेक्स्का मेनेजर रहेका थिए । अहिले उनले आफुनै भाञ्जालाई सो पदमा नियुक्त गर्न लगाई राधाकृष्ण मन्दीरको जग्गा कम्प्लेक्सले प्रयोग गरे वापतको भाडा भाञ्जा मार्फत असुल्दै आएको दाबी स्थानीयको रहेको छ ।

नाम नबताउने शर्तमा उक्त क्षेत्रमा लामो समयदेखि पसल सञ्चालन गर्दै आएका पसल सञ्चालकले पहिलेदेखि नै जग्गाबारे विवाद रहेपनि पैसाको आडमा वडाअध्यक्षकै पहलमा विवाद मिलाउँदै आएको बताए ।

ताम्राकार कम्प्लेक्सले मिचेको सार्वजनिक जग्गाबारे थप फलोअप रिपोर्ट अर्को अंकमा प्रस्तुत गर्नेछौँ ।

भिडियाे : 

यो पनि : 

मन्दिरको जग्गा हडपेर ताम्राकार कम्प्लेक्स

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १८:१९   :  बजे

1.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।