Logo

प्रमुख समाचार

‘गोर्खा वारियरलाई पाँचमा पाँच नै नम्बर दिन्छु’: प्रधानसेनापति शर्मा



काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले फिल्म ‘गोर्खा वारियर’ को मूल्यांकनमा पाँच पूर्णाङ्कमा पाँच नम्बर दिन सकिने रहेको बताएका छन् । शुक्रबार बेलुकी काठमाडौँमा फिल्म हेर्न आफ्नी श्रीमती तथा सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मासँग पुगेका प्रधानसेनापति शर्माले यस्ता फिल्म अझैँ बनाउन आग्रह गरे ।

‘मलाई निर्देशक मिलन चाम्सले बताउनुभएको जस्तै फिल्म पर्दामा पाएँ । उहाँले पर्दामा जङ्गल युद्धलाई देखाउन गर्नुभएको मेहनतलाई म महसुश गर्न सक्छु । किनकी यसमा वास्तविक रुपमा सैनिकले गर्ने गतिविधिलाई देखाईएको छ’, प्रधानसेनापति शर्माले भने, ‘मेरो लागि यो उत्कृष्ट फिल्म हो । यसले सैनिकलाई युद्धमा मात्र सिमित गरेको छैन । उसको घरको कथालाई पनि पर्दामा ल्याउन सफल भएको छ । वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न निर्माता तथा निर्देशक चाम्सलगायतका निर्माण समूहलाई आग्रह गर्छु ।’

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले लाहुरेको जीवनलाई पर्दामा हेर्न पाइएको बताए । ‘लाहुरेको खुशी जीवनलाई सबैले देखेका छन् । तर उनीहरुको वास्तविक जीवनलाई फिल्ममा प्रस्तुत गरिएको छ । यहाँ उनीहरुको संघर्ष, परिवार र देशप्रेमलाई देखाईएको छ’, महानिरीक्षक अर्यालले भने, ‘प्राविधिक रुपमा समेत चलचित्र अब्बल बनेको छ । यस्ता कथाले पर्दामा स्थान पाउनु पर्छ । स्वदेश मात्र नभई विदेशीले पनि यो कथालाई उत्तिकै रुचाउनेमा विश्वस्त छु ।’

निर्देशक चाम्सले पाएको प्रतिक्रियाले आफूलाई आगामी दिनमा यस्ता कथामा काम गर्न उर्जा थपेको बताए । ‘यो फिल्म निर्माण गर्दा झेलेको दुःख कष्टलाई प्राप्त प्रतिक्रियाले बिर्साएको छ । हामीले गरेको मेहनतलाई पर्दामा हेरेर सैनिकले नै तालि बजाउँदा गर्व महसुश भएको छ’, निर्देशक चाम्सले भने, ‘हलिउड र बलिउडका चलचित्र प्रिमियर हुने स्थानमा रातो कार्पेटमा नेपाली कलाकारलाई हिँडाएर विदेश प्रदर्शनको आरम्भ गर्दैछौँ । जहाँ बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुती दिने छन् ।’

गोर्खालीको वीरतालाई आउँदो भदौ २४ मा विश्वलाई बुझाउन बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्लडमा विशेष प्रदर्शनी (वर्ल्ड प्रिमियर) गर्न लागिएको जानकारी दिए । युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । आयोजित विशेष प्रदर्शनीमा नेपाली सेनाका उच्च पदस्थ व्यक्तित्वसँगै सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्जकुमार राई, निर्माता सुमन राई, लेखक तथा सहायक निर्देशक गिरिराज घिमिरे, सम्पादक मिलन श्रेष्ठको, छायाङ्कन निर्देशक सुदीप बराल, द्वन्द्व निर्देशक हिमाल केसी, सञ्चारकर्मी नरेश भट्टराईलगायत उपस्थित थिए ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गर्नुभएको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह निर्माताका रुपमा सुरेश राई छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आईतवार १३:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।