Logo

खेलकुद

चार देशीय महिला टी–ट्वेन्टी सिरिज : हङकङविरुद्ध नेपालकाे सानदार जित



काठमाडौं । चार देशीय महिला टी–ट्वेन्टी सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ । मलेसिया बायोमास ओभलमा टस जितेर पहिला फिल्डिङ रोजेका नेपालले हङकङलाई ६ विकेटले हराएको हो ।

८५ रनका लक्ष्य पछ्याएको नेपालले १५ दशमलव ५ ओभरमा मात्र ४ विकेट गुमाएर ८७ रन बनायो । नेपालका लागि सम्झनाकुमारी खड्काले सर्वाधिक ३६ रनको यागदान दिइन् । उनले ३६ बलमा पाँच चौकासहित ३६ रन बनाएकी हुन् । यस्तै पूजा महतोले १८ बलमा १६ रन बनाइन् । रुबीना क्षेत्री २० बलमा १० रनमा र सीता रानामगर ८ बलमा ३ बनाउँदै अविजित रहे । यसैगरी इन्दु बर्माले १३ बलमा ९ रन बनाउँदा बिन्दु रावल शून्य रनमै पेवेलियन फर्किइन् ।

हङकङका लागि इक्रा साहर, मारिको तबथिा अओता, बीबी मरयाम र कायीङ चानले एक/एक विकेट लिए । त्यसअघि पहिला व्याटिङ गरेको हङकङले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको थियो । हङकङका लागि कायीङ चानले सर्वाधिक ३४ रन बनाइन् । उनले २९ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा ३४ रन बनाएकी हुन् । यस्तै शीङ यान डोरोथीयाले ३३ बलमा १६ तथा यासमीन डासवानीले १२ रन बनाइन् । यबाहेक अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सीता रानामगर एक्लैले ५ विकेट लिइन् । इन्दु बर्माले दुई, रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवरले समान एक÷एक विकेट लिए । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्न लागेका हुन् । नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ । यदी नेपाल शीर्ष दुईमा रहन सके फाइनल २६ अगष्टमा खेल्नेछ ।

पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि सोही दिन खेल्नेछन् । नेपाल २८ अगष्टमा थाईल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् ।

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १५:०६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।