काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीबीच सम्बन्धमा खटपट देखिएको छ ।
निर्वाचनपछि नयाँ राष्ट्रपति चयन भएको ६ महिनामै शीतलनिवास र बालकोटबीच सम्बन्धमा खटपट देखिएको हो ।
राष्ट्रपति चयन भएको पाँच महिनापछि मात्रै उनीहरूबीच पहिलो भेटवार्ता भएको थियो । सम्बन्धमा आएको खटपटकै कारण एमालेले राष्ट्रपति पौडेलले मंगलबार आह्वान गरेको सर्वदलीय बैठक बहिष्कार गरेको छ ।
राष्ट्रपतिको सचिवालयले अन्य दललाई जस्तै एमालेलाई बैठकमा आमन्त्रण गरिए पनि उसका नेताहरू सहभागी भएनन् । ३१ साउनको पछिल्लो भेटवार्ता तिक्ततामा परिणत भएका कारण ओलीले राष्ट्रपतिले बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक नै बहिष्कार गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार र मंगलबार बोलाएको सर्वदलीय बैठकमा पनि स्वास्थ्यका कारण देखाएर ओली सहभागी भएका थिएनन् ।
एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सरकार र दलहरूबीच संवाद जारी रहेकै वेला राष्ट्रपतिले संसद् खुलाउने एजेन्डामा बैठक बोलाएका कारण अध्यक्ष ओली नगएको बताए । ‘एजेन्डा तोकेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई छैन,’ बर्तौलाले भने, ‘राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र सरकार हो । सरकारले मैले सकिनँ, गरिदिनुपर्यो भनेको स्थिति पनि होइन । प्रधानमन्त्री स्वयं रात–बिहान प्रमुख प्रतिपक्षी दलले संसद्मा उठाएको मागको विषयमा छलफल र बैठकमा हुनुहुन्छ ।’
बर्तौलाले सरकारको काम ‘ओभरल्याप’ हुने गरी समानान्तर रूपमा राष्ट्रपतिले गर्न खोजेकाले एमाले सहभागी नभएको दाबी गरे । ‘संवादहीनताको अवस्थामा पहल लिने, सम्झाउने कुरा स्वाभाविक छ । तर, नियमित रूपमा सरकारले छलफल चलाइरहेका वेला, सरकारको काम राष्ट्रपतिले गर्ने होइन,’ उनले भने ।
कांग्रेस नेता मीन विश्वकर्माले अप्ठ्यारो पर्दा अभिभावकीय भूमिका निर्वाह गरेकालाई अन्यथा लिन नहुने बताए । ‘शक्ति पृथकीकरणको सिद्धान्तमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच दरार पैदा भयो भने वा जनताको आफ्नो अधिकार प्रयोग गर्ने थलो अवरोध भयो भने त्यस्तो वेला सहजीकरण र संवादका लागि बोलाउने प्रचलन छ ।
विगतका राष्ट्रपतिले यस्तो वेलामा बोलाउनुहुन्थ्यो,’ उनले भने, ‘अप्ठ्यारो पर्दा अभिभावकीय भूमिका निर्वाह गरेकालाई अन्यथा लिनुहुँदैनथ्यो । प्रतिपक्षी जानुपथ्र्याे । तर, आफैँले अवरोध गरिराखेकाले सम्झाउनैका लागि बोलाएको होला भनेर नगएको हुन सक्छ । जानुपथ्र्याे भन्ने हाम्रो धारणा हो ।’















प्रतिक्रिया